काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण देशभर करिब ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुगेको सरकारी अध्ययनले निष्कर्ष निकालेको छ। प्रभावित संरचनाको मूल्यांकन र पुनर्निर्माण योजना तयार गर्न गठित समितिले आज प्रधानमन्त्री सुशीला कार्कीसमक्ष प्रतिवेदन बुझाउँदै यस्तो तथ्य सार्वजनिक गरेको हो।
समितिका अनुसार सातै प्रदेशका ५४ जिल्लाका २६२ स्थानीय तहमा दुई हजार १६८ सरकारी तथा सार्वजनिक संस्थान प्रभावित भएका छन् । आन्दोलनका क्रममा विभिन्न घटनामा ७७ जनाले ज्यान गुमाएका छन् भने दुई हजार ४२९ जना घाइते भएका छन्। घाइते मध्ये १७ जना १३ वर्षमुनिका रहेका छन्।
सवारी साधन मात्रै १२ हजार ६५९ वटा क्षतिग्रस्त हुँदा करिब १२ अर्ब ९३ लाख ६१ हजार रुपैयाँ बराबरको नोक्सानी भएको प्रतिवेदनमा उल्लेख छ। सरकारी तथा सार्वजनिक क्षेत्रमा आएको क्षति ४४ अर्ब ९३ करोड ७३ लाख रुपैयाँ बराबरको रहेको छ।
त्यस्तै, दुई हजार ६७१ भवनमा क्षति पुगेको र यसको मूल्याङ्कन ३९ अर्ब ३१ करोड ७५ लाख रुपैयाँ बराबर भएको समितिले जनाएको छ। निजी क्षेत्रको क्षति ३३ अर्ब ५४ करोड ८७ लाख रुपैयाँ तथा सामुदायिक तथा अन्य क्षेत्रको क्षति पाँच अर्ब ९७ करोड १७ लाख रुपैयाँ बराबर देखाइएको छ।
सरकारी क्षतिमा संघीय सरकारको हिस्सेदारी ६८ प्रतिशत रहेको छ भने प्रदेशको १० प्रतिशत र स्थानीय तहको २२ प्रतिशत क्षति भएको प्रतिवेदनले जनाउँछ।
असोज ५ गते गठन गरिएको समितिले ७५ दिनको अध्ययनपछि प्रतिवेदन बुझाएको हो।
प्रकाशित मिति: २६ मंसिर २०८२, शुक्रबार













प्रतिक्रिया