काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिनमा नमूना मतदान अभ्यास प्रतिनिधिलाई गराइएको छ ।
ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा एमालेले आज प्रतिनिधिलाई विद्युतीय भोटिङ मेसिनमा मतदान गर्न सिकाउनका लागि नमूना मतदान अभ्यास गराएको हो ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले केन्द्रीय कार्यालयमा आएका प्रतिनिधिलाई नमूना मतदान गराएर विद्युतीय भोटिङ मेसिनमा मतदान गर्न सिकाइएको जानकारी दिए । “प्रतिनिधिलाई विद्युतीय भोटिङ मेसिनमा कसरी मतदान गर्ने भनेर सिकाइएको छ, उनले भने, धेरै जसो प्रतिनिधिले आफैँ मतदान गर्न जान्नुभएको रहेछ ।
रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालका अनुसार आज एमाले पार्टी कार्यालयमा दुई वटा मेसिनबाट नमूना मतदान अभ्भ्यास गराइएको जानकारी दिए । एमालेको महाधिवेशनमा दुई हजार ४०० प्रतिनिधि सहभागी हुँदैछन् ।
उनका अनुसार महाधिवेशन स्थल भृकुटीमण्डपमा १० वटा विद्युतीय मेसिन राखेर प्रतिनिधिलाई मतदान गर्न सिकाइने छ । यसअघि चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको थियो ।
एमाले महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ । महाधिवेशनको बन्दसत्र भने भृकुटीमण्डपमा हुनेछ ।
प्रकाशित मिति: २६ मंसिर २०८२, शुक्रबार












प्रतिक्रिया