काठमाडौँ । धोबीखोला कोरिडोरमा लामो समयदेखि अतिक्रमण गरी बनाइएका संरचना हटाउन भोलि (शनिबार) डोजर चलाउने भएको छ ।

काठमाडौँ उपत्यका विकास प्राधिकरण अन्तर्गतको जिल्ला आयुक्तको कार्यालयले शनिबार बिहान ८ बजेदेखि अतिक्रमित संरचनामा डोजर चलाउने तयारी पूरा गरेको जनाएको छ।

advertisement

जिल्ला आयुक्तको कार्यालयले शुक्रबार शहरी विकासमन्त्री कुलमान घिसिङसमक्ष पुगेर अतिक्रमित संरचना हटाउने तयारीबारे जानकारी गराएको छ । मन्त्री घिसिङले यसअघि नै धोबीखोला उकास क्षेत्रको सरकारी जग्गा खाली गराउन स्पष्ट निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार, आयुक्तको कार्यालयले पटक–पटक सार्वजनिक सूचना जारी गर्दै अतिक्रमण हटाउन आग्रह गर्दै आएको थियो ।


आयुक्तको कार्यालयका एक कर्मचारीका अनुसार शनिबारदेखि सम्पूर्ण अतिक्रमित संरचना हटाउने अन्तिम तयारी छ । सुरक्षाको व्यवस्थापन सुनिश्चित गर्न आयुक्त सुनिता श्रेष्ठले बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई पत्राचार गरेकी थिइन् । त्यसलगत्तै जिल्ला प्रशासन कार्यालयले शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौँलाई आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइसकेको छ ।

धोबीखोला नदी उकासको सरकारी जग्गामा लामो समयदेखि सटर निर्माण गरी व्यापार–व्यवसाय सञ्चालन हुँदै आएका छन् भने केही कर्पोरेट हाउसले समेत कम्पाउण्ड निर्माणका क्रममा सरकारी जग्गा अतिक्रमण गरेको आयुक्तको कार्यालयले जनाएको छ ।

कार्यालयको आन्तरिक प्रतिवेदनअनुसार बूढानीलकण्ठको भङ्गालदेखि बागमती दोभानसम्म करिब १२ किलोमिटर क्षेत्रभित्र झण्डै १ सय ८८ रोपनी सरकारी जग्गा अतिक्रमण भएको पाइएको छ । उक्त जग्गा खाली गराउने विषयमा अध्ययनका लागि शहरी विकास मन्त्रालयले उपसचिव महेश सिंहको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो । समितिमा काठमाडौँ उपत्यका विकास प्राधिकरणका तर्फबाट डोरकाजी श्रेष्ठ र सर्वेक्षक शरद रिजाल सदस्य रहेका छन् ।

प्राधिकरणका अनुसार अन्तिम सूचना जारी भइसकेपछि खोला किनाराका दुवै तर्फ अतिक्रमित संरचना हटाउने गरी सीमाङ्कनको काम सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com