काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाललाई योजनाबद्ध रूपमा युक्रेनजस्तै अस्थिर अवस्थामा धकेल्ने प्रयास भइरहेको आरोप लगाएका छन् । उनले यस्तो परिस्थितिको सामना गर्न सबै वामपन्थी तथा कम्युनिस्ट शक्तिहरू एकताबद्ध हुन आवश्यक रहेको बताएका छन् ।
अंग्रेजी नयाँ वर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै खनालले पछिल्लो समय देखिएको ‘जेन्जी आन्दोलन’का नाममा मुलुकलाई गम्भीर संकटतर्फ धकेल्ने गतिविधि भइरहेको दाबी गरेका हुन् । उनले यसमा केही पश्चिमा शक्ति र नेपालभित्र रहेका उनीहरूका समर्थकहरू संलग्न रहेको आरोप समेत लगाए ।
खनालका अनुसार अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरू र उनीहरूका देशभित्रका प्रतिनिधिहरूले विदेशी पैसा र विभिन्न प्रलोभन प्रयोग गरी नेपाली समाजमा दुष्प्रचार फैलाइरहेका छन् । उनले सबै राजनीतिक नेतृत्वविरुद्ध जनमत भड्काउने, परिवर्तनका लागि संघर्ष गर्दै आएका दलहरूलाई बदनाम गर्ने र समाजवादविरुद्ध वातावरण सिर्जना गर्ने प्रयास भइरहेको उल्लेख गरे ।
उनले यस्ता गतिविधिले मुलुकलाई हिंसा, अशान्ति र विध्वंसतर्फ लैजान सक्ने चेतावनी दिँदै त्यसविरुद्ध सचेत र संगठित प्रतिरोध आवश्यक रहेको बताए । खनालले राष्ट्रिय स्वाधीनता, सामाजिक परिवर्तन र राजनीतिक स्थिरताको रक्षा गर्न वामपन्थी शक्तिहरूले साझा मोर्चा निर्माण गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार













प्रतिक्रिया