काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायाधीशमाथि धम्की दिने, मानहानी गर्ने तथा वातावरण विषाक्त बनाउने प्रवृत्ति रोक्नुपर्ने बताएका छन्। यदि यस्ता गतिविधि रोकिएन भने न्याय सम्पादनको काममा गम्भीर जटिलता आउन सक्ने उनले चेतावनी दिएका छन्।
बिहीबार सर्वोच्च अदालतमा आयोजित पत्रकार भेटघाटमा प्रधानन्यायाधीश राउतले भने, ‘देशको वर्तमान अवस्थामा अदालतलाई कमजोर पार्ने, न्याय सम्पादनको काम जटिल बनाउने घटना बढिरहेका छन्। न्यायाधीशलाई ‘तिमी आदेश गर, तिमी फैसला गर, तिमीलाई खोजी–खोजी मार्छौँ’ भनी धम्की दिनाले स्थिति कस्तो हुन्छ?’
उनले यस विषाक्त वातावरणलाई कम गर्न मिडियाको विशेष भूमिका हुने भन्दै सबैमा सचेत रहन आग्रह गरे। साथै, अदालतसम्बन्धी एआई–जेनरेटेड भिडियोहरू बनाई नकारात्मक सूचना फैलाइने विषयमा पनि उनी चिन्तित देखिए।
सर्वोच्च अदालतले हालै सामाजिक सञ्जालमा फैलिने अफवाह, नकारात्मक टिप्पणी र भ्रामक समाचारहरू रोक्न नेपाल बार एसोसिएसनका प्रतिनिधि, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन मन्त्री अनिलकुमार सिन्हा र पूर्वन्यायाधीशहरूसँग छलफल गरी सल्लाह–सुझाव लिएको छ।
यसअघि न्यायाधीश समाजले पनि विज्ञप्ति जारी गर्दै न्यायालयमाथि पूर्वाग्रहपूर्ण, प्रतिशोधपूर्ण र तथ्यहीन टिप्पणी बढिरहेकोमा चिन्ता व्यक्त गरेको थियो। विज्ञप्तिमा भनिएको छ, ‘न्यायपालिकामा सुधार आवश्यक हुन सक्छ, तर आलोचना सुधारको भावना भन्दा पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण हुन थालेको छ।’
साथै, न्यायाधीश अधिकृत समाजले बुधबार विज्ञप्ति जारी गर्दै न्यायालयको कामप्रति अपमानजनक, धम्कीपूर्ण र तथ्यहीन अभिव्यक्ति प्रसारण भइरहेको भन्दै सचेत गराएको छ। समाजले भनेको छ, ‘कानुनअनुसार गरिएका काममा चित्त नबुझ्ने पक्षले सद्भावनापूर्ण र तथ्यगत आलोचना गर्न सक्ने भए पनि प्रमाणविहीन धम्की, दबाब, चरित्रहत्या तथा भ्रामक पोस्टहरू अदालतको अवहेलनास्वरूप मानिन्छ।’
समाजले यस्तो भ्रामक सामग्री शेयर नगर्न र यस्ता गतिविधि गर्नेहरूलाई कानूनी दायरामा ल्याउन अनुरोध समेत गरेको छ।
प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार













प्रतिक्रिया