काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकाले भेनेजुएलामाथि गरेको भनिएको सैन्य हस्तक्षेपले संयुक्त राष्ट्रसंघजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूको अस्तित्व र विश्वसनीयतामाथि नै गम्भीर प्रश्न उठाएको बताएका छन्।

आइतबार उनले सामाजिक संन्जाल फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै उनले एक सार्वभौम राष्ट्रका जनताद्वारा निर्वाचित राष्ट्रप्रमुखलाई अर्को देशको नेतृत्वको आदेशमा सैनिक हस्तक्षेपमार्फत नियन्त्रणमा लिने र अभियोग लगाउने कार्य संयुक्त राष्ट्रसंघको वडापत्रको स्पष्ट उल्लंघन भएको उल्लेख गरेका छन्।

उनका अनुसार यस्तो कदमले अन्तर्राष्ट्रिय कानुन, राज्यको सार्वभौमिकता र लोकतान्त्रिक मूल्यहरूलाई कमजोर बनाउँछ। कुनै पनि बहानामा एक देशले अर्को देशको निर्वाचित नेतृत्वमाथि सैन्य बल प्रयोग गर्नु आधुनिक विश्व र सभ्य समाजका लागि अस्वीकार्य कार्य हो, उनले लेखेका छन्।

भेनेजुएलामा भएको घटनाक्रम र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिइएको प्रसंगले विश्व राजनीतिमा खतरनाक नजिर स्थापित गरेको पोखरेलको भनाइ छ। यसले शक्ति राष्ट्रहरूको व्यवहार र अन्तर्राष्ट्रिय नियम–कानुनको पालनाबारे गम्भीर बहस आवश्यक बनाएको उनले बताएका छन्।

यस्ता विषयमा अन्तर्राष्ट्रिय समुदाय मात्र होइन, स्वयं अमेरिकी समाजभित्र पनि जिम्मेवार र गहिरो छलफल हुनुपर्ने आवश्यकता रहेको उनको निष्कर्ष छ।

प्रकाशित मिति: २० पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com