काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपालमा भित्रिने रेमिट्यान्स रकममा उल्लेख्य वृद्धि देखिएको छ। यस अवधिमा रेमिट्यान्स आप्रवाह ३५.६ प्रतिशतले बढ्दै ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स वृद्धिदर मात्र ४.७ प्रतिशत रहेको थियो। यसले चालू वर्षमा विप्रेषण आप्रवाह उल्लेख्य रूपमा तीव्र बनेको संकेत गर्दछ।

२०८२ साल मङ्सिर महिनामा मात्र रेमिट्यान्स आप्रवाह १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही महिनामा यो रकम १ खर्ब १८ अर्ब ७९ करोड रुपैयाँ थियो।

अमेरिकी डलरमा गणना गर्दा पाँच महिनाको अवधिमा विप्रेषण आप्रवाह २९ प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड अमेरिकी डलर पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा डलरमा रेमिट्यान्स वृद्धि ३.४ प्रतिशत मात्र थियो।

यसैगरी, चालू आर्थिक वर्षको पाँच महिनामा खुद द्वितीय आय (खुद ट्रान्सफर) ९ खर्ब ५४ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो आय ७ खर्ब ०० अर्ब ४३ करोड रुपैयाँ रहेको थियो।

वैदेशिक रोजगारीतर्फ जाने नेपालीको संख्यामा भने मिश्रित अवस्था देखिएको छ। यस अवधिमा नयाँ तथा संस्थागत श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ७५ हजार ५९१ रहेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६३ हजार ९२४ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी संख्या क्रमशः १ लाख ९० हजार ३८४ र १ लाख ३५ हजार ४२५ थिए।

प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com