काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सहमति नजुटेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कानुनविदहरूसँग छलफल थालेका छन्।

विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएपछि निर्वाचन आयोगमा अद्यावधिक गर्नुपर्ने कानुनी प्रक्रियाबारे परामर्श लिन उनीहरूले कानुनविदहरूसँग छलफल गरेको स्रोतले जनाएको छ। देउवा निवास महाराजगन्जबाट निस्किएपछि महामन्त्रीद्वयले नेतृत्व चयन, हस्ताक्षर अद्यावधिकलगायत विषयमा कानुनी पक्षबारे छलफल गरेका हुन्।

यसैबीच, विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा निर्वाचन प्रक्रिया अघि बढिसकेको छ। बुधबार बिहान ११ बजेसम्म मनोनयन फारम वितरण तथा उम्मेदवारी दर्ता कार्यक्रम सम्पन्न भएको निर्वाचन समिति संयोजक सीताराम केसीले जानकारी दिए।

उनका अनुसार सबै पदमा उम्मेदवारी परेको छ र दिउँसो १ बजे उम्मेदवारको नामावली प्रकाशनको तयारी छ। ‘सकेसम्म सर्वसम्मत गर्ने प्रयास राजनीतिक तहमा भइरहेको छ,’ केसीले भने।

निर्वाचन समितिका अनुसार सभापति पदका लागि ३० हजार रुपैयाँ, केन्द्रीय उपसभापति र महामन्त्रीका लागि समान २५ हजार रुपैयाँ, सहमहामन्त्रीका लागि २० हजार रुपैयाँ तथा केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ। मनोनयन फारम लिँदा शुल्क नलाग्ने भए पनि दर्ता गर्दा भने दस्तुर बुझाउनुपर्ने व्यवस्था छ।

प्रकाशित मिति: ३० पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com