काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियार प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को समानुपातिकतर्फको बन्दसूचीमा दलित क्लस्टरअन्तर्गत पुरुषतर्फ पहिलो नम्बरमा परेका छन्।

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ बन्दसूची पेश गरेका ६३ दलका ३ हजार २ सय १३ उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गर्दा परियारको नाम प्रलोपाबाट दलित क्लस्टरमा पुरुषतर्फ पहिलो स्थानमा समावेश भएको हो।

परियार रास्वपाका तत्कालीन केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतकसमेत रहिसकेका नेता हुन्। हाल उनी प्रलोपा अध्यक्ष परिषद्का सदस्य छन्। उनी २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि रास्वपाको बन्दसूचीबाट दलिततर्फ पहिलो नम्बरमा समावेश भई प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।

यसैगरी, प्रलोपाकै अध्यक्ष परिषद्का सदस्य दुर्गा सोब दलित महिलातर्फ पहिलो नम्बरमा परेकी छन्। सोब दलित महिला संघ फेडोकी संस्थापक अध्यक्ष तथा राष्ट्रिय दलित आयोगकी पूर्व सदस्यसचिव हुन्।

तत्कालीन माओवादीसँग आबद्ध सोब डा. बाबुराम भट्टराईले माओवादी विभाजन गरी नयाँ शक्ति निर्माण गरेपछि उनी पनि माओवादीबाट बाहिरिएकी थिइन्। प्रलोपा गठन हुनुअघि उनी नेपाल समाजवादी पार्टी (नेसपा) नयाँ शक्तिकी कार्यवाहक अध्यक्ष थिइन् भने भट्टराई अध्यक्ष रहँदा उपाध्यक्षको जिम्मेवारी सम्हालेकी थिइन्।

प्रकाशित मिति: ५ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com