काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले नयाँ नेतृत्वसँग मिलेर कोशी प्रदेशमा आफ्नो समूहका उम्मेदवारले महत्वपूर्ण हिस्सेदारी पाएका छन्। विशेष महाधिवेशनको विरोधमा रहे पनि निर्वाचन आयोगले गगन थापाको नेतृत्व मान्यता दिएपछि कोइरालाले आफ्ना क्षेत्रहरूबाट उम्मेदवारी दिएका हुन्।

कोइरालाले मोरङका ६ निर्वाचन क्षेत्रमध्ये ३ क्षेत्र आफ्नो समूहमा लिए। मोरङ क्षेत्र नम्बर २ मा डाक्टर मिनेन्द्र रिजाल र क्षेत्र नम्बर ३ का उम्मेदवार सुनिल शर्मा उनका समूहका हुन्। क्षेत्र नम्बर ४ का महामन्त्री गुरुराज घिमिरे पनि कोइराला समूहका थिए, यद्यपि विशेष महाधिवेशनको समयमा उनले समूह छाडेका थिए।

इलाम क्षेत्र नम्बर २ का उम्मेदवार भेषराज आचार्य, झापा क्षेत्र नम्बर २ की उम्मेदवार सरिता प्रसाईं, झापा क्षेत्र नम्बर १ का उम्मेदवार केशवराज पाण्डे, सुनसरी क्षेत्र नम्बर २ का राजिब कोइराला र क्षेत्र नम्बर ३ का विजयकुमार गच्छदार पनि कोइराला समूहमा पर्छन्। विशेष विवाद भएपनि क्षेत्र नम्बर ३ मा अन्ततः गच्छदारलाई टिकट सुनिश्चित गरिएको थियो।

क्षेत्र नम्बर ६ का थारु बस्तीमा गच्छदारको पकड बलियो छ। भोजपुरका उम्मेदवार बालकृष्ण थापा, उदयपुर १ का विदुर बस्नेत र २ का रामकुमार राई पनि कोइराला समूहका हुन्। अन्य जिल्लाहरूमा गगन थापा, शेरबहादुर देउवा र कृष्ण प्रसाद सिटौलाका समूहले पनि उम्मेदवारको भागवण्डा गरेका छन्।

मंगलबार उम्मेदवारी दर्ता गर्दै कोइरालाले पार्टी एकताबद्ध बनाउने सहकार्य आवश्यक रहेको उल्लेख गरे। उनले भने, ‘बैशाखमा हुने नियमित महाधिवेशनमा सबै विषय मिलिसकेको छ।’

प्रकाशित मिति: ७ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com