मनाङ । मनाङ जिल्लामा प्रमुख प्रतिस्पर्धीका रूपमा रहेको नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी फिर्ता लिने निर्णय गरेको छ। एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङले उम्मेदवारी फिर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दर्ता गराएका छन्। मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार एमालेको मनोनयन फिर्तासम्बन्धी निवेदन दर्ता भइसकेको छ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि मनाङमा चुनाव नलड्ने निर्णय गरेको छ। राप्रपाका उम्मेदवार कुविरसिंह गुरुङले पनि उम्मेदवारी फिर्ता लिन निवेदन दर्ता गराएका हुन्। स्रोतका अनुसार एमालेले मनाङमा नेपाली कांग्रेसलाई सहयोग गर्ने तयारी गरेको छ। अब यहाँ नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच मुख्य प्रतिस्पर्धा हुने भएको छ। नेकपाले यस निर्वाचनमा यशोदा सुवेदीलाई उम्मेदवार बनाएको छ।

एमालेले उम्मेदवारी किन फिर्ता लियो ?

मनाङमा परम्परागत रूपमा कांग्रेस र एमाले प्रमुख प्रतिस्पर्धी रहँदै आएका छन्। चुनावका बेला सम्भावित झै–झगडा तथा अप्रिय घटनाबाट जोगिन गाउँका लामा गुरुहरूको पहलमा यसपटक पनि सहमतिको प्रयास गरिएको थियो। बिहीबार भ्राताङमा आयोजित भेलामा दुवै दलका उम्मेदवारबीच सहमति जुट्न नसकेपछि चिट्ठा प्रणालीमार्फत निर्णय गर्ने प्रस्ताव अघि सारियो।

कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ र एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङको उपस्थितिमा चिट्ठा तान्दा यसपटक कांग्रेस चुनावी प्रतिस्पर्धामा उत्रने र एमाले उम्मेदवारीबाट पछि हट्ने निर्णय भयो। सोही सहमति अनुसार शुक्रबार बिहानै पोल्देन छोपाङ गुरुङले उम्मेदवारी फिर्ता लिएका हुन्। मनाङमा यस्तो सहमति र चिट्ठा प्रणालीमार्फत निर्णय गर्ने परम्परा पुरानै रहेको बताइन्छ।

चिट्ठा अनुसार प्रदेशसभाका दुई निर्वाचन क्षेत्र आगामी निर्वाचनमा एमालेले पाउने र ती क्षेत्रमा कांग्रेसले एमालेलाई सहयोग गर्ने समझदारी पनि भएको छ। मनोनयन फिर्तासम्बन्धी निवेदनमाथि अन्तिम निर्णय आज अपराह्न ३ बजेपछि हुने मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिए।

प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com