काठमाडौं । सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ ।

आइतबार लालबन्दी नगरपालिका–१, नवलपुरमा पायल्सको उपचारका क्रममा सोही नगरपालिका–२, पुनर्वास बस्ने अन्दाजी १८ वर्षीया हंशु पासवानको मृत्यु भएको हो । नवलपुरमा रहेको मोहन आयुर्वेद औषधालयका चिकित्सकले लापरबाही पूर्ण ढंगले गलत शल्यक्रिया गरिदिएकाले किशोरीको मृत्यु भएको परिवारको आरोप छ ।

advertisement

शल्यक्रियालगत्तै अवस्था गम्भीर बनेपछि किशोरीलाई थप उपचारका लागि हरिवनस्थित नमुना अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । घटनालगत्तै मृतकका आफन्त तथा स्थानीयले टायर बालेर पूर्वपश्चिम राजमार्गमा केहीबेर सवारी आवागमन अवरुद्ध गरेका थिए ।

सुरक्षा निकायको पहलमा घटनाको निष्पक्ष छानबिन गर्ने र पीडित परिवारलाई राहत उपलब्ध गराउने सहमतिपछि यातायात पुनः सञ्चालन भएको प्रहरी नायब उपरीक्षक राईले बताउनुभयो । किशोरीको उपचारमा संलग्न चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो । रासस

प्रकाशित मिति: ११ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com