जोमसोम। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका लागि मुस्ताङ जिल्लाको थासाङ गाउँपालिकामा रहेका मतदान केन्द्र तथा मतदानस्थलको स्थलगत अनुगमन गरिएको छ।
मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेल, प्रमुख जिल्ला अधिकारी अजिता शर्मा, जिल्ला सुरक्षा समिति, जिल्ला निर्वाचन कार्यालय प्रमुख लोकेन्द्र ज्ञवाली, सुरक्षाकर्मी तथा स्थानीय सञ्चारकर्मी सम्मिलित संयुक्त टोलीले थासाङ गाउँपालिकामा रहेका आठ मतदान केन्द्रमध्ये पाँच वटा मतदान केन्द्र तथा मतदानस्थलको अनुगमन गरेको हो।
जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीका अनुसार निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न मतदान केन्द्रको शान्तिसुरक्षा, भौतिक अवस्था तथा मतदाताले निर्भीकतापूर्वक मतदान गर्न पाउने संवैधानिक अधिकार सुनिश्चित गर्ने उद्देश्यले स्थलगत अनुगमन गरिएको हो। टोलीले घाँसा, छयो, लेते, कोवाङ र कोवाङ मतदान केन्द्र तथा मतदानस्थलमा प्रत्यक्ष अनुगमन गरेको उनले जानकारी दिए।
थासाङ गाउँपालिकामा कालीगण्डकीपारि रहेका सौरु, कुञ्जो र झिप्रा देउराली मतदानस्थलको अर्को चरणमा अनुगमन गरिने पनि उनले बताए।
मुख्य निर्वाचन अधिकृत पौडेलका अनुसार उम्मेदवार मनोनयन दर्ता, दाबी–विरोध, अन्तिम नामावली प्रकाशन र निर्वाचन चिन्ह प्रदान गर्ने प्रक्रिया सम्पन्न भएसँगै मतदान केन्द्र तथा मतदानस्थलको अनुगमन सुरु गरिएको हो।
यसअघि प्रमुख जिल्ला अधिकारी अजिता शर्माको नेतृत्वमा जिल्ला सुरक्षा समितिले उपल्लो मुस्ताङका लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेका २८ मतदान केन्द्रमध्ये २५ वटा मतदान केन्द्र तथा मतदानस्थलको अनुगमन गरिसकेको छ। ताङ्ग्या र ढी (लोघेकर दामोदरकुण्ड) तथा साङ्ता (बारागुङ मुक्तिक्षेत्र) मतदानस्थलको अनुगमन भने बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
निर्वाचनका लागि मुस्ताङका पाँच पालिकामा कूल ३९ मतदान केन्द्रस्थल कायम गरिएको छ। यसअन्तर्गत लोमान्थाङ गाउँपालिका–२ सम्जुङ मतदान केन्द्रलाई सोही वडाको दिव्यदीप माध्यमिक विद्यालय, छोसेरमा स्थानान्तरण (मर्ज) गरिएको छ। साथै, लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ मा यसअघिको मतदान केन्द्रसँगै थप एक मतदान केन्द्र व्यवस्था गरिएको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार मुस्ताङमा कूल ११ हजार ३२८ मतदाता रहेका छन्। पालिकागत रूपमा घरपझोङमा २ हजार ४९२, थासाङमा २ हजार ९०७, बारागुङ मुक्तिक्षेत्रमा २ हजार ३९, लोघेकर दामोदरकुण्डमा १ हजार ५४२ र लोमान्थाङ गाउँपालिकामा २ हजार ११ मतदाता रहेका छन्।
प्रकाशित मिति: १२ माघ २०८२, सोमबार












प्रतिक्रिया