मुस्ताङ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पनि हिमाली जिल्ला मुस्ताङमा अपेक्षित चुनावी सरगर्मी देखिएको छैन। अधिकांश मतदाता हिउँदयाम छल्न जिल्ला बाहिर बसाइँ सरेकाले यहाँको निर्वाचन गतिविधि ‘हिउँदयामको हिउँ जस्तै जमेर बसेको’ उम्मेदवारहरूको गुनासो छ।

सामान्यतया स्थानीय तह तथा संघीय–प्रादेशिक निर्वाचन वैशाख–जेठ वा कात्तिक–मंसिरमा हुँदै आएकोमा यस वर्ष जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरिएको हो। तर मुस्ताङमा हिउँदयामको कठोर जाडोका कारण अधिकांश नागरिक कात्तिक–मंसिरमै बेसी झर्ने र चैत्र–वैशाखतिर मात्रै जिल्लातर्फ फर्किने परम्परा रहेकाले निर्वाचनले गति लिन नसकेको सरोकारवालाहरू बताउँछन्।

advertisement

यहाँका धेरै मतदाता पोखरा, काठमाडौंलगायतका स्थानमा अस्थायी रूपमा बसोबास गरिरहेका छन्। नेपाल–चीन सीमावर्ती लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका करिब ८० प्रतिशत मतदाता मंसिरअघि नै बेसी झरेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए। उनका अनुसार माथिल्लो मात्र होइन, तल्लो मुस्ताङका पनि ५० प्रतिशतभन्दा बढी मतदाता यतिबेला जिल्ला बाहिर छन्।

पर्यटन ‘अफसिजन’ सुरु हुनु, स्याउ बगैंचाको व्यवस्थापन सकिनु तथा जाडो बढ्नुले गर्दा मतदाता बेसी झरेका हुन्। निर्वाचन नजिकिँदै गए पनि मतदाता जिल्लामै नरहेकाले राजनीतिक दल र उम्मेदवारका प्रचारप्रसार गतिविधि सुस्त बनेका छन्।

दुई साताअघि उम्मेदवारहरूले मनोनयन दर्ता गराइसके पनि जिल्लामा चुनावी माहोल खासै तातेको छैन। मतदाता खोज्दै उम्मेदवारहरू आफैं पोखरा, काठमाडौंलगायतका स्थानतर्फ झरेका छन्। यद्यपि स्थानीय प्रशासन र निर्वाचन कार्यालयले भने आन्तरिक तयारीलाई निरन्तरता दिएको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए। उनका अनुसार सुरक्षा निकायले निर्वाचन सुरक्षासम्बन्धी योजना तयार गरिसकेको छ र मतदान केन्द्र तथा स्थलको अनुगमन भइरहेको छ।

मतदाता जिल्ला बाहिर रहेकाले निर्वाचनको मितिमा उनीहरूलाई फर्काउने विषय सबैभन्दा ठूलो चुनौती बनेको राजनीतिक दलका उम्मेदवारहरूको भनाइ छ। फागुन महिनामा पनि मुस्ताङमा चिसो कायमै रहने भएकाले धेरै मतदाता वैशाखतिर मात्रै फर्किने योजनामा रहेको बताइन्छ।

नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचनले मतदाता जिल्लामा नहुँदा प्रभावकारी प्रचारप्रसार सुरु गर्न नसकिएको बताए। “मुस्ताङ सुनसान छ, सबै मतदाता बेसीमै हुनुहुन्छ,” उनले भने, “फागुनपछि मात्रै जिल्ला फर्किएर चुनावी अभियान तीव्र बनाउने सोच छ।”

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अधितीयचन्द्र थकाली पनि मतदाता भेट्न बेसीमै झरेका छन्। “मतदाता को–कहाँ बस्छन् पत्ता लगाउनै गाह्रो छ,” उनले भने, “फोन सम्पर्कमार्फत बसेको ठाउँमा पुगेर भेटघाट गरिरहेका छौँ।”

नेकपा (एमाले)का उम्मेदवार इन्द्रधारा ढाडु विष्टले मतदाता खोज्दै पोखरा र काठमाडौंसम्म धाउनुपरेको गुनासो गरे। “जिल्लामा प्रचार गर्न चाहँदा मतदाता नै छैनन्,” उनले भने, “बेसीमा को कहाँ बस्छन् खोज्दै हिँड्नु परेको छ।”

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार ङुटुक गुरुङले पनि जिल्लामा भन्दा काठमाडौंमै बसेर मुस्ताङका मतदाता खोजीखोजी मत मागिरहेको बताए। “जिल्लामा गएर प्रचार गर्ने अवस्था छैन,” उनले भने, “फागुनपछि मतदाता फर्किन थालेपछि मात्रै जिल्लामै केन्द्रित हुनेछु।”

यस निर्वाचनका लागि मुस्ताङमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), उज्यालो नेपाल र आम जनता पार्टीसहित आठ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन्।

जिल्लाका पाँच स्थानीय तहमा कूल ११ हजार ३२८ मतदाता रहेका छन् भने मतदानका लागि ३९ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम गरिएको छ। बेसी झरेका मतदातालाई फिर्ता ल्याएर मतदानमा सहभागी गराउनु राजनीतिक दलका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ।

प्रकाशित मिति: १९ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com