काठमाडौं। पूर्व गृहमन्त्री तथा जाजरकोटबाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शक्ति बस्नेतलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। मतदातालाई पैसा बाँडेको आरोपमा उनीसँग स्पष्टीकरण मागिएको हो।
निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपसहित उजुरी परेपछि आयोगले छानबिन गर्दा बस्नेत पक्षबाट बाजागाजा बजाउँदै आचारसंहिता विपरीत गतिविधि गरिएको देखिएको आयोगले जनाएको छ। आयोगका अनुसार बाजागाजा बजाइरहेको समूहका सदस्यहरूलाई पाँच सय रुपैयाँका नोट वितरण गरिएको दृश्य देखिएको आधारमा स्पष्टीकरण सोधिएको हो।
निर्वाचन आयोगले जारी गरेको पत्रमा निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको देखिएकाले किन निर्वाचन कानुनबमोजिम कारबाही नगर्ने भन्ने सम्बन्धमा स्पष्टिकरण पेस गर्न आग्रह गरिएको छ।
आयोगले पत्र प्राप्त भएको मितिले तीन दिनभित्र स्वयं वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालय जाजरकोट वा निर्वाचन आयोग, नेपालमा स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ
प्रकाशित मिति: १२ माघ २०८२, सोमबार













प्रतिक्रिया