सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका–२ नुनढाकीमा भएको बोलेरो जिप दुर्घटनामा मृत्यु हुने दुई जनाको पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार दुर्घटनामा चैनपुर नगरपालिका–१ का ५९ वर्षीय वीरबहादुर लिम्बू र सोही वडाका पैरे निवासी अनिष थक्लुङको मृत्यु भएको हो। उनीहरूमध्ये एक जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
आइतबार साँझ करिब ५ः३० बजे चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १–००१ च ८२४७ नम्बरको बोलेरो जिप चैनपुर–२ नुनढाकीस्थित भित्री सडक खण्डमा दुर्घटनामा परेको थियो।
दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन्। घाइते हुनेहरूमा चैनपुर–१ सिङरिङका ३४ वर्षीय निमदोर्जी शेर्पा, ९ वर्षीय बालक पेम्बा शेर्पा, चैनपुर मैदानेका ४५ वर्षीय भीमबहादुर थुलुङ र पाँचथरको फिदिम नगरपालिका–४ का २८ वर्षीय दीपेश माझी रहेका छन्।
गम्भीर घाइते निमदोर्जी शेर्पा, भीमबहादुर थुलुङ र दीपेश माझीलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको छ।
घटनालगत्तै सशस्त्र प्रहरी नं. ४ गुल्म चैनपुरका प्रहरी नायब उपरीक्षक बाबुराम पौडेल, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पर्शुराम राईसहितको टोली घटनास्थल पुगेको थियो। दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १२ माघ २०८२, सोमबार













प्रतिक्रिया