ओखलढुङ्गा । चिशङ्खुगढी गाउँपालिका–६ भदौरेमा एक महिना नबित्दै फेरि वृद्ध दम्पतीको निर्मम हत्या भएको छ। सोही वडाको बोहोरे टोलमा बस्दै आएका अन्दाजी ८१ वर्षीय चन्द्रविक्रम राई र उनकी धर्मपत्नी अन्दाजी ८० वर्षीया चन्द्रमाया राईको गएराति हत्या भएको हो।

स्थानीयका अनुसार पसल सञ्चालन गर्दै आएका राई दम्पतीको लुटपाटपछि हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार घरको दोस्रो तलामा रहेको सुत्ने कोठामा खाटमै सिरक ओढेको अवस्थामा चन्द्रविक्रम राईको शव फेला परेको थियो भने उनकी पत्नी चन्द्रमाया राई खाटको छेउ भुइँमा सिरक ओढिएको अवस्थामा मृत भेटिएकी हुन्।

advertisement

उक्त घटनाको जानकारी आज बिहान करिब ७ः४० बजे प्रहरी चौकी निशङ्खेमा प्राप्त भएको थियो। जानकारी पाउनासाथ प्रहरीको टोली घटनास्थलमा पुगेर सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए।

‘घटनास्थल सुरक्षित गरिएको छ। थप अनुसन्धान तथा सम्भावित जोखिम न्यूनीकरणका लागि प्रहरी परिचालन गरिएको छ,’ डीएसपी केसीले भने।

यसअघि गत पुस १५ गते भदौरेकै गैरीगाउँमा मगर दम्पतीको लुटपाटपछि हत्या भएको थियो। त्यसअगाडि असोज २६ गते सिद्धिचरण नगरपालिका–४ चार्खुमा एकल महिला रत्नकुमारी कटवाल (कार्की) को समेत हत्या भएको थियो। ती घटनामा संलग्न भएको आरोपमा मिलन भन्ने सङ्गम राई, विनोद राई, प्रकाश भुजेल र दोर्जे भन्ने अशोक भुजेललाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ।

एकै स्थानमा उस्तै प्रकृतिका हत्या घटनाहरू दोहोरिनुले स्थानीयवासीमा गहिरो त्रास फैलिएको छ। शृङ्खलाबद्ध रूपमा भइरहेका यस्ता जघन्य घटनाले नागरिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको भन्दै दोषीलाई तत्काल पहिचान गरी कडा कारबाही गर्न स्थानीयवासीले प्रहरीसमक्ष माग गरेका छन्।

प्रकाशित मिति: १३ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com