काठमाडौं । जाजरकोटमा १५ वर्षीय किशोर खिमराज विष्टको मृत्यु प्रकरणमा उनका तीन जना साथी पक्राउ परेका छन्।
१६ वर्ष मुनिका तीन किशोरलाई पक्राउ गरी विष्टको मृत्यु सम्बन्धमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका इन्स्पेक्टर सुधीर खड्काले जानकारी दिए। पक्राउ परेकाविरुद्ध किटानी जाहेरी दर्ता भइसकेको छ।
प्रहरीका अनुसार उनीहरूविरुद्ध जाजरकोट जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको छ।
जुनीचाँदे गाउँपालिका–४ निवासी विष्टको शव १० माघमा फेला परेको थियो। उनी ९ माघमा सरस्वती पूजाका दिन साथीहरूसँग गाउँकै पाथीभरा मन्दिर दर्शन गर्न भन्दै घरबाट निस्किएका थिए। तर भोलिपल्ट उनको शव गाउँ नजिकैको जंगलमा फेला परेको थियो।
शव फेला पर्दा विष्टको शरीरमा कुनै ठूला घाउचोट देखिएको थिएन। प्रारम्भिक अनुसन्धानअनुसार विष्टसँगै गएका साथीहरूले जंगलमै मदिरा सेवन गरेको खुलेको छ। यद्यपि, हाल हिरासतमा रहेका उनका साथीहरूले विष्टको मृत्युबारे आफूहरूलाई जानकारी नभएको दाबी गरेका छन्।
प्रकाशित मिति: १४ माघ २०८२, बुधबार












प्रतिक्रिया