काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार थापा मुलुकको नेतृत्व गर्न पूर्ण रूपमा तयार रहेको बताएका छन्।
झापा निर्वाचन क्षेत्र नं १ मा आइतबार आयोजित क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले देश निर्माणको स्पष्ट दूरदृष्टि भएकाले नेपाली कांग्रेसले सभापति थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको बताए। उनले भने, “नेपालको लोकतान्त्रिक आन्दोलनमा सभापति गगन थापाको योगदान, राजनीतिक संस्कार र भिजन अतुलनीय छ। त्यसैले नेपाली कांग्रेस उहाँलाई प्रधानमन्त्री बनाउने प्रस्तावसहित चुनावी अभियानमा होमिएको छ।”
उपसभापति शर्माले पार्टीको हालै सम्पन्न विशेष महाधिवेशनले भागबन्डा र गुटगत राजनीतिलाई अन्त्य गरेको दाबी गरे। विगतमा ६०–४० को भागबन्डाको चर्चा हुने गरेको स्मरण गर्दै उनले अहिले पार्टी विभाजित मनस्थितिमा नभई पूर्ण रूपमा निर्वाचन अभियानमा केन्द्रित भएको बताए।
विशेष महाधिवेशनपछि उपसभापति शर्मा पहिलो पटक आफ्नो गृह निर्वाचन क्षेत्र झापा–१ मा आयोजित कार्यक्रममा सहभागी भएका हुन्। उक्त क्षेत्रबाट नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि केशवराज पाण्डेलाई उम्मेदवार बनाएको छ। उपसभापति शर्माले पार्टीका उम्मेदवार पाण्डेलाई विजयी गराउन कार्यकर्तालाई सक्रिय रूपमा लाग्न आह्वान गरे।
प्रकाशित मिति: १९ माघ २०८२, सोमबार













प्रतिक्रिया