काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरण कायम गर्न प्रहरीको भूमिका अत्यन्तै संवेदनशील र निर्णायक हुने उल्लेख गरेकी छन्।

सोमबार काठमाडौंमा नेपाल प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचनलाई उत्तरदायी लोकतान्त्रिक प्रक्रियाको महत्त्वपूर्ण कदमको रूपमा व्याख्या गरिन्। उनले भनिन्, “निर्वाचनको सफलताको आधार स्वतन्त्र, निष्पक्ष र पारदर्शी वातावरण हो र यसका लागि प्रहरीको भूमिका निर्णायक हुनेछ।”

advertisement

प्रधानमन्त्री कार्कीले प्रहरी र समुदायबीचको सम्बन्ध सुदृढ भएको इतिहासलाई स्मरण गर्दै नेपाल प्रहरीले विगतमा देखाएको व्यावसायिकता र निष्ठालाई निर्वाचनको समयमा कायम राख्न आग्रह गरेकी छन्। उनले प्रहरीलाई कुनै पनि राजनीतिक प्रभाव, दबाव वा पूर्वाग्रहबाट माथि उठेर कानुनको मर्मअनुसार जिम्मेवारी निर्वाह गर्न निर्देशन दिइन्। उनका अनुसार सुरक्षा निकायको निष्पक्षता नै लोकतन्त्रको मुख्य सुरक्षा कवच हो।

उहाँले परम्परागत अपराध नियन्त्रणसँगै वर्तमान समयमा देखा परेका नयाँ प्रकारका चुनौती—साइबर अपराध, संगठित अपराध, वित्तीय अपराध, बहुदेशीय अपराध र सामाजिक द्वन्द्वका जटिल मुद्दाहरूमा प्रहरी निरीक्षकले केवल आदेश पालनामा सीमित नभई, समस्या विश्लेषक र समाधानकर्ता स्वरूप सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन्। यसले प्रहरीलाई व्यावसायिक क्षमता र निर्णयक्षमता अभिवृद्धि गर्न योगदान पुर्‍याउने बताइन्।

समारोहमा उपस्थित गृहमन्त्री ओमप्रकाश अर्यालले पनि प्रहरीलाई केवल आदेश पालक नभई, राज्य र समाजका अभिभावकको रूपमा काम गर्नुपर्ने औँल्याए। उनले सरकारले प्रहरीलाई पूर्णरूपमा सक्षम बनाउन, नीतिगत स्पष्टता र संस्थागत मजबूती सुनिश्चित गर्न प्रतिवद्ध रहेको बताए। गृहमन्त्री अर्यालले प्रहरीलाई व्यावसायिक स्वतन्त्रता, जिम्मेवारी र दक्षता सुनिश्चित गर्न आवश्यक निर्देश दिँदै शक्ति दुरूपयोग र भ्रष्टाचार नियन्त्रणमा तटस्थ र कानूनअनुसारको परिचालन अनिवार्य रहेको स्पष्ट पारे।

गृहमन्त्री अर्यालले भने, “कुनै पनि तत्वले नेपाल प्रहरीको निष्पक्षतालाई कमजोर पार्न सक्दैन। विगतमा प्रहरीले जस्तै यस पटकको निर्वाचन पनि सफलतापूर्वक सम्पन्न गर्नेछ र आफ्नो व्यावसायिक दक्षता प्रमाणित गर्नेछ।”

प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालले संयुक्त रूपमा प्रहरी निरीक्षकहरूलाई नयाँ चुनौती सामना गर्न तयारी र निष्ठापूर्वक काम गर्न प्रेरित गर्दै, लोकतन्त्रको रक्षा र निर्वाचनको सफलतामा प्रहरीको महत्त्वपूर्ण योगदान सुनिश्चित गर्न निर्देशन दिएका छन्।

प्रकाशित मिति: १९ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com