बागलुङ।  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन जी आन्दोलनपछि देश संकटमा परेको अवस्थामा आफू र सहसंयोजक माधव नेपालले पहल गरेर मुलुकलाई जोगाएको दाबी गरेका छन्।

बिहीबार बागलुङको बुर्तिबाङमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले वर्तमान निर्वाचनलाई राष्ट्र रक्षा र स्वाधीनताको पक्षमा उभिने असाधारण अवसरका रूपमा लिनुपर्ने बताए।

advertisement

उनले २०८४ सालमा निर्वाचन हुने अपेक्षा भए पनि बाध्यात्मक परिस्थितिका कारण अहिले चुनाव हुन गएको उल्लेख गरे। भदौ २३ र २४ गतेका घटनाले देशमा भयावह अवस्था सिर्जना गरेको दाबी गर्दै त्यसबेला राजनीतिक नेतृत्वले विवेक प्रयोग गरी विशेष पहल लिएको बताए।

“त्यो घटनाको उद्देश्य केवल जलाउने र लुट्ने मात्र थिएन, राष्ट्रपति हटाएर कठपुतली सरकार बनाउने र नेपाललाई युक्रेनजस्तै अवस्थातर्फ धकेल्ने योजना रहेको थियो भन्ने हामीले थाहा पायौं,” उनले भने।

संविधान केही हदसम्म ‘घाइते’ भएको उल्लेख गर्दै उनले अब त्यसको रक्षा गर्ने जिम्मेवारी राष्ट्रवादी शक्तिको काँधमा आएको बताए। उनका अनुसार वर्तमान निर्वाचन सामान्य प्रतिस्पर्धा नभई विदेशी शक्तिको प्रभावमा देशलाई अस्थिर बनाउन खोज्ने र राष्ट्रवादी शक्ति बलियो बनाउन चाहनेबीचको संघर्ष हो।

“२४ गतेदेखि २६ गतेसम्म राज्य कसले चलाएको थियो भन्ने गम्भीर प्रश्न उठेको छ। यो निर्वाचन देशको नेतृत्व जनताकै हातमा छ भन्ने स्थापित गर्ने लडाइँ हो,” उनले भने।

विश्व राजनीति नयाँ चरणमा प्रवेश गरिसकेको भन्दै उनले नेपालजस्तो सानो देश ठूला शक्तिको प्रतिस्पर्धाको थलो बन्न नहुने बताए। युक्रेन र भेनेजुएलाका घटनाको उदाहरण दिँदै विदेशी हस्तक्षेपको जोखिमप्रति सजग रहन आग्रह गरे।

कार्यक्रममा उनले बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम र रोल्पाको विकासका लागि योजना बनाइरहेको जानकारी दिए। बागलुङ–२ का उम्मेदवार ज्ञामलाल गैरेजस्ता युवालाई उम्मेदवार बनाउँदा गर्व लागेको उल्लेख गर्दै जनताले जिताएर पठाए उचित जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त गरे।

उक्त कार्यक्रममा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, नेकपाकी नेतृ पफ्फा भुसाल तथा बागलुङ–२ का उम्मेदवार ज्ञामलाल गैरेलगायतले पनि सम्बोधन गरेका थिए। उनीहरूले वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी तथा राष्ट्रवादी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिएका थिए।

प्रकाशित मिति: २९ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com