काठमाडौं । लिचिबारी भ्रष्टाचार प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्ताले दायर गरेको निवेदन सुनुवाइका लागि पेसी तोकिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा उक्त निवेदनमाथि सुनुवाइ हुने भएको हो।

यसअघि विशेष अदालतले लिचिबारी जग्गा प्रकरणसम्बन्धी भ्रष्टाचार मुद्दामा गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। उक्त आदेश बदर गर्न माग गर्दै गुप्ताले सर्वोच्च अदालतमा निवेदन दायर गरेका हुन्।

पोखरास्थित लिचिबारी जग्गा प्रकरणमा विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गुप्तालाई थुनामा पठाउने आदेश गरेको थियो।

अभियोगअनुसार तत्कालीन मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुखको सरुवा रोकिदिने तथा भूमि आयोगमा सदस्य बनाइदिने प्रलोभन देखाउँदै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको प्रमाण फेला परेको दाबी गरिएको छ।

त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ता र पूर्वमन्त्री रन्जिता श्रेष्ठले आपसी मिलेमतोमा पदको दुरुपयोग गर्दै कार्यसुविधा प्रदान गर्न २५ लाख रुपैयाँ घुस लिएको अभियोग लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

अदालतमा बयान दिँदा गुप्ताले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै कुनै पनि व्यक्तिसँग घुस नलिएको दाबी गरेका थिए। तर, प्रारम्भिक प्रमाणका आधारमा तत्काल निर्दोष ठहर गर्न नसकिने भन्दै विशेष अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com