काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट रौतहट–२ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका २८ वर्षीय सोनु कुशवाहाले आइतबार पार्टीबाट राजीनामा दिएका छन्।
कुशवाहाले पार्टीभित्र व्यक्तिवाद र परिवारवाद हाबी भएको आरोप लगाउँदै त्यसकै कारण आफूले पार्टी परित्याग गरेको बताएका छन्। परिवर्तनको एजेन्डासहित जनमत पार्टीबाट उम्मेदवारी दिएको भए पनि युवामाथि दमन हुँदा पार्टी नेतृत्व मौन बसेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।
उनका अनुसार पार्टीभित्र जनताको आवाज सुन्ने वातावरण अभाव रहेको र आन्तरिक लोकतन्त्र कमजोर भएको कारण त्यहाँ रहिरहनुको अर्थ नभएको निष्कर्षमा पुगेका हुन्। उम्मेदवार बनाएपछि पनि कुनै समन्वय नगरेको तथा नेतृत्व आफ्नै क्षेत्र र पारिवारिक प्रभाव क्षेत्रमा सीमित भएको उनले आरोप लगाए।
कुशवाहासँगै सो क्षेत्रका केही अन्य नेताहरूले पनि पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका छन्। आन्तरिक असन्तुष्टि, एकलौटी निर्णय प्रक्रिया, स्थानीय जनभावनाको उपेक्षा र विकासका मुद्दामा स्पष्ट कार्ययोजना नदेखिएको जस्ता कारण देखाउँदै उनीहरूले पार्टी त्याग गरेका हुन्।
प्रतिनिधिसभा सदस्यका उम्मेदवार कुशवाहाले आगामी निर्वाचनमा कसलाई समर्थन गर्ने भन्नेबारे भने हालसम्म कुनै धारणा सार्वजनिक गरेका छैनन्।
प्रकाशित मिति: १० फाल्गुन २०८२, आइतबार












प्रतिक्रिया