सिरहा । गोलबजार नगरपालिका–२ गुरुधाममा करेन्ट लागेर एक टिपर चालकको मृत्यु भएको छ। आज बिहान टिपर सफा गर्ने क्रममा भएको विद्युत् दुर्घटनामा स्थानीय ४३ वर्षीय सन्तोष साहले ज्यान गुमाएका हुन्।
प्रदेश २–०१–००१ क ००४५ नम्बरको टिपरको हाइड्रोलिक भाग माथि उठाउँदा माथिबाट गएको ११ केभी उच्च भोल्टेज लाइनमा छोइएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गोलबजार का अनुसार साहले टिपर धुने क्रममा पछाडिको ढाला उठाएका थिए। सोही क्रममा ढाला विद्युत् तारमा ठोक्किँदा गाडीभरि करेन्ट प्रवाह भएको थियो।
करेन्ट लागेर गम्भीर घाइते भएका साहलाई तत्काल उपचारका लागि गोलबजारस्थित लाइफलाइन अस्पताल लगिँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहा ले पुष्टि गरेको छ।
विद्युत् सर्टका कारण टिपरको केही भागमा आगलागीसमेत भई आंशिक क्षति पुगेको छ। प्रहरी निरीक्षक सुदन केसीका अनुसार सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ। मृतकको शव परीक्षणका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया