काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराइने प्रतिबद्धता व्यक्त गरेका छन्।
शुक्रबार दोलखाको बैतेश्वर गाउँपालिका का विभिन्न मतदान केन्द्रको स्थलगत निरीक्षण तथा अनुगमन गर्दै गृहमन्त्री अर्यालले विगतका कमजोरीहरू सच्याउँदै यसपटक धाँधलीरहित र शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न सुरक्षा निकाय तथा सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका हुन्।
सरकारका प्रवक्तासमेत रहेका अर्यालले सामाजिक सञ्जालमार्फत फैलाइने भ्रामक, मिथ्या तथा दुष्प्रचारपूर्ण सूचनाप्रति सचेत रहन सबै सरोकारवालालाई आग्रह गरे। उनले निर्वाचन क्षेत्रगत तयारी सुदृढ बनाउन र मतदातामा विश्वासको वातावरण कायम गर्न जोड दिएका छन्।
अनुगमनका क्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको टोलीले स्थानीय सरोकारवालासँग निर्वाचन सुरक्षाबारे अन्तरक्रिया गरेको थियो। छलफलमा २०७९ सालको स्थानीय तह र प्रतिनिधिसभा निर्वाचनका अनुभव समीक्षा गर्दै यसपटकको सुरक्षा रणनीतिबारे जानकारी आदान–प्रदान गरिएको सह–प्रवक्ता रमा आचार्यले बताइन्।
विगतमा देखिएका संवेदनशील पक्षलाई ध्यानमा राख्दै विभिन्न नाकाहरूमा जाँच कडा पारिएको जनाइएको छ।
बैतेश्वर गाउँपालिकामा आठ मतदान स्थल र २१ मतदान केन्द्र निर्धारण गरिएको छ भने कुल मतदाता संख्या १८ हजार ४२२ रहेको छ।
प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार












प्रतिक्रिया