काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने आम निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन सम्पूर्ण मतदातालाई आग्रह गरेकी छन्। सोमबार देशवासीका नाममा सम्बोधन गर्दै उनले मुलुक अहिले इतिहासको महत्वपूर्ण मोडमा उभिएको उल्लेख गर्दै आफ्नो र भावी पुस्ताको भविष्य निर्धारण गर्न मतदानमा सहभागी हुन आह्वान गरिन्।
निर्वाचन हुन तीन दिन बाँकी रहँदा गरिएको विशेष सम्बोधनमा प्रधानमन्त्री कार्कीले मतदान केवल चुनाव चिन्हमा छाप लगाएर कसैलाई जिताउने प्रक्रिया मात्र नभई देशको भविष्य कस्तो बनाउने भन्ने महत्वपूर्ण निर्णय भएको बताइन्।
आफ्नो कार्यकालको अनुभव स्मरण गर्दै उनले ‘जेन–जी आन्दोलन’ पछि उत्पन्न भएको जटिल, संवेदनशील र चुनौतीपूर्ण परिस्थितिमा आफूले सरकारको नेतृत्व सम्हालेको बताइन्। सडकमा युवाहरूको असन्तोष चुलिएको र देशको भविष्य अन्योलमा परेको अवस्थामा मुलुकलाई हिंसात्मक दिशातर्फ जान नदिई शान्तिपूर्ण समाधानतर्फ डोर्याउनु आफ्नो सरकारको मुख्य उपलब्धि रहेको उनको दाबी थियो।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘कठिन सङ्क्रमण पार गर्दै आज हामी यहाँसम्म आइपुगेका छौँ। विधिको शासनलाई बलियो बनाउँदै देशलाई स्थिरताका साथ अघि बढाउने काममा सरकार सफल भएको छ।’
निर्वाचन नजिकिँदै जाँदा सामाजिक सञ्जाल तथा आमसञ्चार माध्यममार्फत तथ्यहीन सामग्री र भ्रामक प्रचार फैलाएर निर्वाचनको वातावरण बिगार्न खोज्ने गतिविधिप्रति सरकारले निगरानी गरिरहेको उनले स्पष्ट पारिन्।
उनले मुलुकमा दण्डहीनता सह्य नहुने भन्दै कानुनविपरीत गतिविधिमा संलग्न जोसुकैलाई पनि कानुनअनुसार कारबाही गरिने चेतावनी दिइन्।
प्रधानमन्त्रीले सरकार र निर्वाचन आयोग स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गराउन पूर्ण रूपमा तयारी अवस्थामा रहेको जानकारी दिँदै मौन अवधिमा सबै राजनीतिक दल र पक्षलाई निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरिन्।
प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया