काठमाडौं। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आयोगले आचारसंहिता अनुगमन अधिकृतहरूलाई थप निर्देशन दिएको छ । आयोगले आजदेखि मतदान केन्द्र बन्द नहुँदासम्म पालना गर्नुपर्ने विशेष आचरणको प्रभावकारी कार्यान्वयनका लागि निर्देशन जारी गरेको हो ।
निर्वाचन आयोगले सहायक प्रमुख जिल्ला अधिकारी तथा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई फरक–फरक जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकेको छ । आयोगले निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ मा उल्लेखित मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदान केन्द्र बन्द नहुँदासम्म पालना गर्नुपर्ने विशेष आचरणको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न निर्देशन दिएको छ ।
आयोगले अनुगमन अधिकृतहरूलाई आफ्नो जिल्लाभित्र सूक्ष्म अनुगमन गरी आचारसंहिताको पालना गराउन निर्देश गरेको छ । निर्वाचन आचारसंहिता तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ विपरीतका कार्य भएको पाइएमा सोही ऐनबमोजिम जिल्ला आचारसंहिता अनुगमन समितिसमेतको सहकार्यमा प्रभावकारी कारबाही अघि बढाउन निर्देशन दिएको छ ।
आयोगले प्रचारप्रसार निषेध अवधिमा प्रचलित कानुन र निर्वाचन आचारसंहिताबमोजिम गर्न नहुने कार्यहरू नगर्न तथा नगराउन सम्बन्धित सबै पक्षमा अनुरोध गरेको छ । मौन अवधिमा मत माग्ने, प्रचारप्रसार गर्ने, प्रभाव पार्ने गतिविधि, सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमबाट मत माग्ने, मतदान केन्द्र वरपर प्रचार सामग्री राख्ने जस्ता कार्य पूर्ण रूपमा निषेध छन् ।
आयोगले मौन अवधिको पालना नगरेमा उम्मेदवारी खारेजीदेखि ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउनेसम्मको कारबाही हुने स्पष्ट पारेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन सबै पक्षले आचारसंहिता कडाइका साथ पालना गर्न आयोगले आग्रह गरेको छ ।
फागुन २१ गते मतदान सम्पन्न नभएसम्म मौन अवधि कायम रहन्छ । यो अवधिमा मतदातालाई स्वतन्त्र तथा विवेकपूर्ण ढङ्गले मतदान गर्ने वातावरण सिर्जना गर्ने उद्देश्य राखिएको छ ।
प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलबार













प्रतिक्रिया