काठमाडौं । साउदी अरेबियाको राजधानी रियादस्थित अमेरिकी दूतावासलाई दुईवटा इरानी ड्रोनले लक्षित गरेको साउदी रक्षा मन्त्रालयका आधिकारिक प्रवक्ताले मंगलबार जानकारी दिएका छन् ।

गल्फ न्युजका अनुसार आक्रमणका कारण दूतावास भवनमा सीमित आगलागी भएको र सामान्य भौतिक क्षति पुगेको छ । दूतावासले अमेरिकी नागरिकहरूलाई जहाँ छन् त्यहीँ सुरक्षित रूपमा आश्रय लिन आग्रह गरेको छ । घटनामा कुनै मानवीय क्षति भएको वा नभएकोबारे तत्काल स्पष्ट जानकारी आएको छैन ।

advertisement

यस घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा प्रतिक्रिया जनाउँदै भनेका छन्, “रियादस्थित अमेरिकी दूतावासमाथि भएको आक्रमण र अमेरिकी सैनिकहरूको हत्या प्रतिकारबिना रहने छैन । यसको जवाफ चाँडै देखिनेछ ।”

यो आक्रमण इजरायल तथा अमेरिकाको संयुक्त आक्रमणपछि इरानले मध्यपूर्वका विभिन्न अमेरिकी सैन्य अड्डा तथा सहयोगीहरूमाथि गरेको सघन जवाफी हमलाको क्रममा भएको हो । इरानले यसलाई आफ्नो सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित दर्जनौं उच्च अधिकारीको हत्याको प्रतिशोधका रूपमा प्रस्तुत गरेको छ ।

साउदी अरेबियामा कार्यरत नेपालीहरूको संख्या ५ लाखभन्दा बढी छ । यो घटनाले खाडी क्षेत्रमा सुरक्षा जोखिम थप बढाएको छ । नेपाल सरकारले इजरायल तथा इरानमा रहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन तथा अनावश्यक यात्रा नगर्न यसअघि नै एडभाइजरी जारी गरिसकेको छ । परराष्ट्र मन्त्रालय तथा नेपाली दूतावासहरूले नेपाली समुदायसँग सम्पर्क बढाएर सुरक्षा जानकारी प्रवाह गरिरहेका छन् ।

मध्यपूर्वमा तनाव चर्किँदै गएको बेला यो घटनाले क्षेत्रीय स्थिरतामा थप चुनौती थपेको छ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले आपत्कालीन बैठक बोलाउने तयारी गरेको छ ।

प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com