काठमाडौं । सोविता गौतम आदिवासी जनजाति समुदायबारे दिएको अभिव्यक्तिका कारण विवादमा परेकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी की नेतृ गौतमले एक चुनावी कार्यक्रममा सम्बोधन गर्ने क्रममा आदिवासी जनजाति समुदाय ‘पैसामा बिक्ने’ भन्ने आशयको अभिव्यक्ति दिएको आरोप लागेपछि विवाद चर्किएको हो।
उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपाल आदिवासी जनजाति महासंघ जिल्ला परिषद् सचिवालय चितवनले विज्ञप्ति जारी गरेको छ। महासंघले गौतमको अभिव्यक्तिले इमानदार, सचेत र स्वाभिमानी आदिवासी समुदायलाई ‘पैसाले किन्न सकिने’ तथा ‘बिक्न सक्ने वर्ग’का रूपमा चित्रण गरेको भन्दै त्यसले समुदायको मानमर्दन गरेको जनाएको छ।
विज्ञप्तिमा वर्षौंदेखि आफ्नो पहिचान, स्वाभिमान र अधिकारका लागि संघर्षरत आदिवासी जनजाति समुदायको सम्मानमा गम्भीर आघात पुगेको उल्लेख गरिएको छ। साथै यस्तो अभिव्यक्तिले समुदायको राजनीतिक चेतना र विवेकमाथि पनि प्रहार गरेको महासंघको भनाइ छ।
महासंघले उक्त अभिव्यक्तिप्रति सार्वजनिक रूपमा स्पष्टिकरणसहित माफी माग्न माग गर्दै यस्ता टिप्पणीहरूले सामाजिक सद्भावमा नकारात्मक असर पार्न सक्ने भएकाले जिम्मेवार राजनीतिक आचरण प्रदर्शन गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलबार













प्रतिक्रिया