भक्तपुर। सशस्त्र प्रहरी बल इन्टेलिजेन्ट ब्यूरोको टोलीले सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश बस्तीबाट हतियारसहित एक जना व्यक्तिलाई पक्राउ गरेको छ ।
भक्तपुर जिल्ला प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगका अनुसार गोरखा पालुङटार नगरपालिका–९ का स्थायी बासिन्दा तथा हाल सूर्यविनायक नगरपालिका–८ भुम्डोलमा बसोबास गर्दै आएका ३१ वर्षीय आयन सेढाईलाई पक्राउ गरिएको हो ।
प्रहरीले सादा पोसाकमा खटिएर छापा मार्दा निजबाट सेल्फ लोडेड राइफल, इन्सास एक थान र त्यसमा प्रयोग हुने चार राउन्ड गोली बरामद गरेको छ । यसबाहेक रबरको गोली एक राउन्ड, सटगनमा प्रयोग हुने गोली एक राउन्ड, एउटा खुकुरी र बञ्चरो पनि नियन्त्रणमा लिइएको छ ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको तथा पक्राउ परेका व्यक्तिविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा मुद्दा दर्ता गर्ने तयारी गरेको जनाएको छ । यो घटनाले स्थानीय स्तरमा सुरक्षा चिन्ता बढाएको छ ।
प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलबार













प्रतिक्रिया