रुकुमपूर्व। भौगोलिक विकटताका कारण रुकुमपूर्वमा निर्वाचन सामग्री तथा कर्मचारीहरू मतदानस्थलसम्म पुर्‍याउन निकै कठिनाइ भएको छ । नेकपाका संयोजक प्रचण्डसहित ११ जना उम्मेदवार रहेको यस जिल्लामा कर्मचारीहरूले दिनभर भीरको बाटो, साँघुरो गोरेटो र कतिपय ठाउँमा डोरीको सहारामा यात्रा गर्नुपरेको छ ।

सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगंगा गाउँपालिका–२ पेल्मास्थित मतदान केन्द्रसम्म मतपेटिका र निर्वाचन सामग्री पुर्‍याउन कर्मचारी तथा सुरक्षाकर्मीले दुई दिनको कठिन यात्रा गर्नुपरेको छ । पहिलो दिन कच्ची सडकबाट सानो गाडी (जीप) को यात्रा गर्न सकिन्छ । दोस्रो दिन भने असली परीक्षा सुरु हुन्छ । एक कर्मचारीले भने, “जीपबाट ओर्लिएपछि दिनभर भीरको बाटो, साँघुरो गोरेटो र कतै त डोरीको सहारामा हिँड्नुपर्ने अवस्था छ । मतपेटिका बोकेर ती भीरहरू काट्नु भनेको ज्यान हत्केलामा राखेर हिँड्नु हो ।”

advertisement

यस्तै नियति सिस्ने गाउँपालिका–१ पाखापानीको पनि छ । यहाँ राज्यको उपस्थिति चुनावी बेला मात्र देखिने गरेको स्थानीयको गुनासो छ । लुम्बिनी प्रदेशको एउटा मात्र हिमाली जिल्ला रुकुमपूर्वमा जम्मा ३४ हजार ७ सय ७२ मतदाता छन् । जिल्लामा ४४ मतदानस्थल र ५६ मतदान केन्द्र निर्धारण गरिएको छ ।

भौगोलिक विकटता भए पनि मताधिकार प्रयोग गर्न आतुर मतदाताहरू भने उम्मेदवारका प्रतिबद्धता र विगतको समीक्षा गरिरहेका छन् । पुथा उत्तरगंगा गाउँपालिकामा वडागत रूपमा हेर्दा वडा नं. १० (तकसेरा र घुम्लिबाङ क्षेत्र) मा १५१० मतदाता छन्, जुन पालिकाको उच्च सङ्ख्या हो । वडा नं. १२ (कोल) मा १ हजार ३८१, वडा नं. १४ (राङसी) मा ११२६ मतदाता छन् ।

वडा नं. १ (मैकोट) मा ९६१, वडा नं. २ मा ५२३, वडा नं. ५ मा ८७० र वडा नं. ११ मा १२७५ मतदाता छन् । तुलनात्मक रूपमा कम मतदाता रहेको वडा नं. ७ (खारखोला र जाङ) मा ४७८ र वडा नं. ६ (मयाङ) मा ३६७ मतदाता छन् ।

भूमे गाउँपालिकातर्फ वडा नं. ९ (चुनवाङ र सिमचौर) मा १९७७ मतदाता छन् । वडा नं. ३ (सिमा) मा १६१६ र वडा नं. १ (लुकुम) मा १४७८ मतदाता छन् । वडा नं. ८ (कुचिवाङ र भोटिसमलचौर) मा १४९५ र वडा नं. २ (काक्री) मा १४२१ मतदाता छन् । वडा नं. ७ (गुनाम र धर्मशाला) मा ८७३ मतदाता छन् ।

सिस्ने गाउँपालिकामा मतदाताको चाप अझ बढी छ । वडा नं. ५ (रुकुमकोट) मा जिल्लाकै सबैभन्दा धेरै २२५७ मतदाता छन्, जसका लागि रुक्मिणी मा.वि.मा तीनवटा मतदान केन्द्र (क, ख, ग) तोकिएको छ । वडा नं. ६ (छिप्रिदह र खोपिचार) मा १७९२, वडा नं. ४ (नयाँढाका र झाक्रिपोले) मा १६३४ र वडा नं. ३ (पोखरा) मा १३९७ मतदाता छन् । वडा नं. १ मा ९८० र वडा नं. ७ मा ९७६ मतदाता छन् ।

भौगोलिक विकटताले गर्दा मतदान सामग्री पुर्‍याउन कर्मचारीहरूले ज्यान जोखिममा पारेर यात्रा गर्नुपरेको छ । स्थानीयहरूले भने मतदानका लागि उत्साह देखाएका छन् ।

प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com