काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले देशभर शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भइरहेको जानकारी दिएका छन्। मतदान पछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यसपटक युवाहरूको उत्साह धेरै देखिएकाले ६५ प्रतिशतभन्दा बढी मत खस्ने अनुमान आयोगले गरेको बताएका छन्।
बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रियामा मतदाताहरू छिटो आफ्नो मताधिकार प्रयोग गर्न उत्साहित देखिएका छन्। मतदान सकिएलगत्तै सहरी र सुगम क्षेत्रबाट मतपेटिका संकलनको काम सुरु हुने र संकलन भएको २४ घण्टाभित्रै मतगणना थालिने भण्डारीले स्पष्ट पारे।
मतदाताहरूले आफूले भोट दिएको उम्मेदवारको जीत वा हार चाँडै जान्न चाहने भएकाले आयोग छिटो नतिजा सार्वजनिक गर्न प्रतिबद्ध रहेको उनले बताए। धेरै मतपत्र भएका ठाउँमा ५–६ टोली र कम मतपत्र भएका ठाउँमा २–३ टोली बनाएर स्थानीय तहमा नै मतगणना गर्ने व्यवस्था गरिएको छ। आयोगले समानुपातिकतर्फसहित सम्पूर्ण नतिजा मंसिर २५ भित्र सार्वजनिक गर्ने तयारी गरेको छ।
हिमाली जिल्लाहरूमा हिउँ वा पानी परेर मतदान प्रभावित भएको भन्ने हल्ला गलत भएको भण्डारीले दाबी गरे। उनले आफू १५–२० वटा हिमाली जिल्लासँग निरन्तर सम्पर्कमा रहेको र ती सबै ठाउँमा उत्साहपूर्वक मतदान भइरहेको जानकारी दिएका छन्।
पछिल्लो निर्वाचनसँग तुलना गर्दा यसपटक चुनाव प्रचारदेखि मौन अवधिसम्म सबै ठाउँमा शान्ति सुरक्षा कायम रहेको र सरकारको सुरक्षा व्यवस्था प्रभावकारी रहेको उनले बताए। प्रत्येक मतदाताले आफ्नो मत हाल्न एकदेखि दुई मिनेट मात्र लाग्ने भएकाले लामो समय लाइनमा बस्न नपर्ने व्यवस्था आयोगले मिलाएको छ।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया