काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जु दर्शनालाई बधाई दिएका छन् ।
मिश्रले सामाजिक सञ्जालमार्फत ११ वर्षअघिको एउटा फोटो फेरि सेयर गर्दै रञ्जुको प्रशंसा गरेका हुन् । उक्त फोटोसँगै उनले लेखेका छन्, “प्रिय रञ्जु दर्शनाजी, सम्भवतः मैले १०–११ वर्षअघि तपाईंको यही फोटो शेयर गर्दै तपाईंको प्रशंसा र तपाईंप्रति आशा व्यक्त गरेको थिएँ । आज पुनः त्यही फोटो प्रेषित गरेर तपाईंलाई बधाई तथा शुभकामना दिन चाहन्छु । भ्रष्टाचार नियन्त्रण, सुशासन र रूपान्तरणप्रतिको तपाईंको इमान र दृढता सदा कायम रहोस् !”
मिश्रले यो सन्देशमार्फत रञ्जुको निर्वाचन जितलाई स्वागत गर्दै उनको राजनीतिक यात्रा तथा सुशासनप्रतिको प्रतिबद्धताको प्रशंसा गरेका छन् । रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट प्रतिस्पर्धा गर्दै जित हासिल गरेकी थिइन् ।
रवीन्द्र मिश्रले यसअघि पनि रञ्जुको काम र छविप्रति सकारात्मक टिप्पणी गर्दै आएका थिए । यो पटकको निर्वाचनमा मिश्र स्वयं काठमाडौं–१ बाट उम्मेदवार बनेका थिए तर रञ्जुले जित हासिल गरेपछि उनले विजेतालाई बधाई दिएका हुन् ।
यो अभिव्यक्तिले राजनीतिक क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ । निर्वाचनपछि राजनीतिक दलहरूबीचको सम्बन्ध तथा सहकार्यको सम्भावनालाई पनि यो सन्देशले जोड दिएको छ ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया