काठमाडौं। पछिल्ला केही वर्षमा नेपालको राजनीतिमा देखिएको परिवर्तनसँगै बालेन्द्र शाह (बालेन) चर्चाको केन्द्रमा पुगेका छन्। काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेताका रूपमा उनी अहिले सम्भावित प्रधानमन्त्रीका रूपमा समेत चर्चा हुन थालेका छन्।
२०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिएका उनले ‘लौरो’ चुनाव चिह्नसहित काठमाडौं महानगरपालिकाको मेयरमा ऐतिहासिक जित हासिल गरेका थिए। बालेनले ६१ हजार ७६७ मत प्राप्त गरेका थिए भने उनका मुख्य प्रतिस्पर्धी सिर्जना सिंह ले ३८ हजार ३४१ र केशव स्थापित ले ३८ हजार ११७ मत पाएका थिए।
इन्जिनियरिङ पृष्ठभूमिका बालेन सन् २०१३ मा र्याप संगीतमार्फत चर्चामा आएका थिए। काठमाडौंको हिमालयन ह्वाइटहाउस कलेजबाट इन्जिनियरिङ अध्ययन गरेका उनले भारतबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन्। यही प्राविधिक पृष्ठभूमिले राजनीतिप्रति निराश बनेका धेरै युवालाई आकर्षित गरेको विश्लेषकहरूको भनाइ छ।
गत भदौ २३ र २४ मा भएको ‘जेन–जी आन्दोलन’ पछि ७७ जनाको मृत्यु भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ले राजीनामा दिएका थिए। त्यसपछि आन्दोलनका केही समूहले अन्तरिम सरकारको नेतृत्वका लागि बालेनलाई अघि सारेका थिए। तर उनले प्रस्ताव अस्वीकार गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्की लाई समर्थन गरेका थिए।
२०८२ माघ ४ मा बालेन औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए। त्यसको भोलिपल्ट उनले जनकपुरबाट चुनावी अभियान सुरु गरेका थिए। यसपटक उनले झापा–५ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने निर्णय गरेपछि राष्ट्रिय राजनीतिमा ठूलो चर्चा सुरु भएको छ।
सामाजिक सञ्जालमा पनि उनी अत्यन्त सक्रिय छन्। फेसबुकमा उनका करिब ३५ लाखभन्दा बढी अनुयायी छन् र प्रायः त्यही माध्यमबाट जनतासँग प्रत्यक्ष संवाद गर्छन्। तर कहिलेकाहीँ उनको स्पष्ट र कडा अभिव्यक्तिका कारण विवाद पनि हुने गरेको छ।
विश्लेषकहरूका अनुसार बालेन शाहको उदयले नेपालको परम्परागत राजनीतिक संरचनालाई चुनौती दिएको छ। उनी परिवर्तनका प्रतीक बन्नेछन् वा विवादास्पद नेतृत्वका रूपमा चिनिनेछन् भन्ने कुरा आगामी राजनीतिक घटनाक्रमले तय गर्नेछ।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया