काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा काठमाडौंका १० वटै क्षेत्रमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपाले जमानत जफत भएको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार काठमाडौंका १० क्षेत्रमा कुल ४ लाख ६३ हजार ३४२ सदर मतमध्ये नेकपाका उम्मेदवारहरूले जम्मा १८ हजार ३४३ मत (३.८९ प्रतिशत) मात्र प्राप्त गरेका छन् ।
यो मतदानमा नेकपाले ५ प्रतिशतभन्दा कम मत ल्याएर जमानत जफत भएको हो । सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको धरौटी रकम फिर्ता नहुने व्यवस्था छ ।
क्षेत्रगत अवस्था हेर्दा अधिकांश क्षेत्रमा नेकपाका उम्मेदवारले हजार मत पनि कटाउन सकेनन् । काठमाडौं १ मा मेनुका भण्डारीले ३४५ मत (सातौं स्थान), ३ मा निरज लामाले ५१८ मत (छैटौं), ४ मा इन्द्रकुमार भुसालले ६५७ मत (सातौं), ५ मा कल्पना शर्माले ५७४ मत (सातौं) प्राप्त गरे । काठमाडौं २ मा नितेश पौडेलले १ हजार ९१२ मत (पाँचौं), ६ मा हिमाल शर्मा (हेमलाल) ले १ हजार १६४ मत (पाँचौं), ७ मा बसन्त मानन्धरले ३ हजार ६६७ मत (तेस्रो), ८ मा सुमन सायमीले ३ हजार २१७ मत (दोस्रो), ९ मा राधाकृष्ण महर्जनले १ हजार ३२८ मत (छैटौं) र १० मा रुपा महर्जनले २ हजार ६४८ मत (चौथो) प्राप्त गरे ।
काठमाडौं ७ र ८ मा मात्र नेकपाले ३ हजारभन्दा बढी मत ल्याएको छ । अन्य क्षेत्रमा उनीहरू पाँचौं वा त्यसभन्दा तल रहेका छन् ।
२०६४ मा तत्कालीन माओवादीले काठमाडौंका ४ क्षेत्र जितेको थियो । प्रचण्ड काठमाडौं १० बाट विजयी भएका थिए । झक्कु सुवेदीले माधवकुमार नेपाललाई हराएका थिए । हितेन्द्रदेव शाक्य र हिसिला यमी पनि विजयी भएका थिए । तर २०७० मा एकीकृत माओवादीले कुनै सिट जित्न सकेन । २०७४ मा वाम गठबन्धनमा पनि कुनै जित भएन । २०७९ मा कांग्रेससँग गठबन्धन गर्दा पनि दुई क्षेत्रमा मात्र उम्मेदवारी दिएका थिए, जितेनन् ।
२०८२ मा एकीकृत समाजवादीका नेतासहित २० भन्दा बढी साना वाम घटक मिलेर नेकपा गठन भएको थियो । तर काठमाडौंमा नेकपाको प्रदर्शन निराशाजनक रह्यो । राजधानीमा खुम्चिँदै गएको माओवादीको प्रभाव यसपटक पनि देखिएको छ ।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार











प्रतिक्रिया