गुल्मी। गुल्मी निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकालले फराकिलो मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
अन्तिम मतपरिणामअनुसार ढकालले ३० हजार ४४८ मत प्राप्त गरेका छन् । निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का प्रदीप ज्ञवालीले १५ हजार ३२८ मत ल्याएका छन् भने नेपाली कांग्रेसका चन्द्र भण्डारीले १३ हजार ७३१ मत प्राप्त गरेका छन् ।
ढकालले ज्ञवालीलाई १५ हजार १२० मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन् । यससँगै गुल्मी–१ मा रास्वपाले उल्लेखनीय सफलता हासिल गरेको छ । मतगणनाको क्रममा सुरुदेखि नै अग्रता कायम राखेका ढकालले अन्त्यसम्म पनि आफ्नो अग्रता दोब्बरभन्दा बढी बनाएर जित सुनिश्चित गरेका थिए ।
यो क्षेत्रमा प्रमुख दलहरूबीच तीव्र प्रतिस्पर्धा भए पनि रास्वपाको यो जितले नयाँ शक्तिको उदयलाई स्पष्ट रूपमा देखाएको छ । मतगणना शान्तिपूर्ण रूपमा सम्पन्न भएको र कुनै विवाद नभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार











प्रतिक्रिया