काठमाडौं। मध्यपूर्वमा अमेरिका–इरान युद्धका कारण उत्पन्न असहज परिस्थिति र हवाई क्षेत्र बन्द हुँदा दुबई विमानस्थलमा रोकिएका नेपाली यात्रुहरूलाई स्वदेश फिर्ता ल्याउन नेपाल वायुसेवा निगमले विशेष उडानको व्यवस्था गरेको छ।
यो युद्ध सुरु भएको १२औं दिनपछि निगमले दुबईतर्फ पहिलो विशेष उडान भर्न लागेको हो।
निगमका कार्यकारी निर्देशक अमृतमान श्रेष्ठका अनुसार, आज राति ११:१५ बजे वाइडबडी जहाजबाट काठमाडौं–दुबई उडान (आरए २२९) हुनेछ।
यो जहाजले नेपालबाट दुबई पुगेर अलपत्र यात्रुहरूलाई लिएर फर्किने छ।
फर्किने उडान (आरए २३०, दुबई–काठमाडौं) भने बिहीबार बिहान ४:१० बजे काठमाडौं अवतरण गर्ने तालिका रहेको छ।
यो विशेष उडानमा २७० देखि २८० जना यात्रु दुबई पुग्ने र त्यहाँबाट उत्तिकै संख्यामा अलपत्र नेपाली यात्रुहरूलाई उद्धार गरी फिर्ता ल्याइने अपेक्षा गरिएको छ।
निगमले ‘पहिलो आउनेलाई पहिलो सेवा’ सिद्धान्तका आधारमा यात्रुहरूलाई प्राथमिकता दिएको जनाएको छ।
खासगरी गत फेब्रुअरी २८ देखि मार्च ९ सम्म टिकट काटेका तर युद्धका कारण यात्रा गर्न नपाएका यात्रुहरूले मात्र यो उडान प्रयोग गर्न पाउनेछन्।
निगमले सम्बन्धित यात्रुहरूलाई टिकट पुन: प्रमाणित गराई विमानस्थल पुग्न सूचित गरेको छ।
यो उडान मुख्य रूपमा दुबईमा उद्धारको प्रतीक्षामा बसेका नेपालीहरूलाई लक्षित गरी सञ्चालन गरिएको निगमले बताएको छ।
मध्यपूर्वको अवस्था सुधार नभएसम्म यस्ता विशेष उडानहरू थप सञ्चालन हुन सक्ने सम्भावना पनि रहेको छ।
यात्रुहरूलाई थप जानकारीका लागि निगमको आधिकारिक सूचना तथा सम्पर्क नम्बरमा जाँच गर्न आग्रह गरिएको छ।
प्रकाशित मिति: २७ फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया