काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले) का सचिव महेश बस्नेतविरुद्ध अदालतको अवहेलना गरेको आरोपमा सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ।
अधिवक्ता लवन न्यौपानेले बुधबार (फागुन २७) सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेका हुन्। उक्त मुद्दाको सुनुवाइका लागि आगामी चैत १ गते पेसी तोकिएको छ।
न्यौपानेले गत माघ ११ गते प्रेस चौतारी नेपालले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बस्नेतले अदालत र न्यायाधीशहरूलाई लक्षित गर्दै अवहेलनाजन्य अभिव्यक्ति दिएको दाबी गरेका छन्। उनका अनुसार बस्नेतले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरूविरुद्ध लाञ्छनायुक्त टिप्पणी गर्दै मानमर्दन हुने किसिमका अभिव्यक्ति दिएका थिए।
निवेदनमा बस्नेतले कार्यक्रममा न्यायिक प्रक्रिया ढिल्याउने, दबाबमा पर्ने, लोभ–प्रलोभनमा फस्ने, महाभियोगको डर देखाउने तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्तिको प्रभावमा पर्ने जस्ता आरोप लगाउँदै न्यायाधीशहरूलाई लक्षित टिप्पणी गरेको उल्लेख गरिएको छ।
अधिवक्ता न्यौपानेले अदालतको गरिमा र न्यायिक संस्थाप्रतिको विश्वास कमजोर पार्ने खालको अभिव्यक्ति दिएको भन्दै बस्नेतलाई अदालतको अवहेलनामा कानुनअनुसार कडा सजाय गर्न माग गरेका छन्।
प्रकाशित मिति: २७ फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया