काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक बहुमत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै रास्वपाको विजयलाई स्वागत गरेका हुन्। पुष्पकमल दाहालले रास्वपाले जनताबाट प्राप्त गरेको म्यान्डेटअनुसार राम्रो काम गरेमा आफ्नो पार्टीले त्यसमा सहयोग र समर्थन गर्ने पनि बताएका छन्।
उनले भने, ‘रास्वपाले अत्यधिक बहुमत प्राप्त गरेको छ। उहाँहरूलाई हाम्रो शुभकामना छ। जनताको अपेक्षाअनुसार राम्रो काम गर्नुभयो भने त्यस्ता काममा हाम्रो साथ र समर्थन रहनेछ।’
सञ्चारकर्मीले यसअघि उनले गरेको ‘म्याजिक नम्बर’ सम्बन्धी दाबीबारे सोध्दा भने दाहाल त्यस विषयमा पछि हटेका देखिए। उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘अहिले म्याजिक–स्याजिकको कुरा छैन, रास्वपालाई शुभकामना।’
यसपटक रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका दाहाल १० हजार २ सय ४० मत प्राप्त गर्दै निर्वाचित भएका छन्।
तर, उनको पार्टी नेकपाले भने समग्र निर्वाचन परिणाममा अपेक्षित सफलता हासिल गर्न सकेन। चुनावअघि बहुमत ल्याउने दाबी गरिएको भए पनि यसपटक नेकपाले प्रत्यक्षतर्फ जम्मा ७ सिट मात्र जित्न सकेको छ।
प्रकाशित मिति: २७ फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया