काठमाडौं । सुर्खेतमा मृत अवस्थामा भेटिएकी १६ वर्षीया इनिसा विक को घटनाबारे अनुसन्धानमा सहयोग गर्न केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरो (सीआईबी) को टोली सुर्खेत आउने भएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेत का प्रहरी उपरीक्षक सुधीराज शाही का अनुसार सीआईबीबाट एक प्रहरी निरीक्षकको कमान्डमा टोली बिहीबार नै सुर्खेत पुग्नेछ।
साथै नेपाल प्रहरी प्रदेश कार्यालय नेपालगञ्ज बाट पोलिग्राफ परीक्षण गर्ने अर्को टोली पनि सुर्खेत आउँदै छ।
प्रहरीका अनुसार पोलिग्राफ परीक्षणले बयानमा सत्य–असत्य पहिचान गर्न सहयोग गर्नेछ। त्यसैगरी सीडीआर विश्लेषणलगायतका प्राविधिक अनुसन्धानका लागि विज्ञ टोलीसमेत खटाइने जनाइएको छ।
प्रहरीले घटनाको अनुसन्धान अन्तिम चरणतिर पुगेको बताए पनि कुनै पक्ष नछुटोस् भनेर थप विज्ञ टोलीको सहयोग मागिएको जनाएको छ।
मोबाइलहरू डिजिटल फरेन्सिक परीक्षणका लागि पठाइएको र केन्द्रीय विधि विज्ञान प्रयोगशालामा टक्सिकोलोजिकल तथा बायो–सेरोलोजिकल परीक्षण भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्य को टोलीले प्रदेश अस्पताल सुर्खेत मा शव परीक्षण गरेको थियो।
यो पनि:
सुर्खेत : १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको प्रहरीको निष्कर्ष
प्राप्त प्रतिवेदनमा अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको उल्लेख भए पनि अनुसन्धान जारी रहेकाले प्रहरीले औपचारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरेको छैन।
गुर्भाकोट नगरपालिका–६ स्थायी घर भएकी इनिसा हाल वीरेन्द्रनगर नगरपालिका–१ मा परिवारसँग बस्दै आएकी थिइन्।
ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी उनी वीरेन्द्रनगर–४ को जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन्। प्रदेश अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक १६ वर्षीय किशोरसहित अन्य केही किशोरहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
सबै अभियुक्त नाबालक भएकाले उनीहरूको नाम सार्वजनिक गरिएको छैन।
यस घटनाले देशभर चासो बढाएको छ। विभिन्न राजनीतिक दल, अधिकारकर्मी र नागरिक समाजले निष्पक्ष अनुसन्धान र दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले पनि घटनाको निष्पक्ष छानबिन गरी पीडित परिवारलाई न्याय दिलाइने विश्वास दिलाएका छन्।
प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया