एजेन्सी । अमेरिकाले इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनेईसहित केही उच्चपदस्थ इरानी अधिकारीबारे सूचना दिने व्यक्तिलाई एक करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ।

अमेरिकी विदेश मन्त्रालयले सञ्चालन गर्ने ‘रिवार्ड्स फर जस्टिस’ कार्यक्रममार्फत यस्तो घोषणा गरिएको हो। यो कार्यक्रम अमेरिकाविरुद्ध लक्षित आतंकवादी गतिविधिमा संलग्न भएको आशंका गरिएका व्यक्तिबारे जानकारी दिने व्यक्तिलाई आर्थिक पुरस्कार प्रदान गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको छ।

advertisement

फेब्रुअरी २८ मा इरानी सैन्य संरचनालाई लक्षित गरी अमेरिका र इजरायलले गरेको आक्रमण तथा त्यसको जवाफमा मध्यपूर्वका विभिन्न क्षेत्रमा इरानबाट गरिएको मिसाइल र ड्रोन प्रत्याक्रमणपछि क्षेत्रीय तनाव झन् चर्किएको छ। यही पृष्ठभूमिमा अमेरिकाले उक्त कदम चालेको जनाइएको छ।

उक्त कार्यक्रमको अद्यावधिक सूचीमा इरानका नयाँ सर्वोच्च नेता खामेनेईसँगै इरानका गृहमन्त्री तथा गुप्तचर तथा सुरक्षा मन्त्रीको नाम पनि समावेश गरिएको छ। सामाजिक सञ्जालमार्फत जारी गरिएको सन्देशमा ‘यी इरानी नेताहरूका बारेमा जानकारी भए हामीलाई जानकारी दिनुहोस्, जसका आधारमा तपाईं पुरस्कार तथा आवश्यक परे स्थानान्तरणको अवसरका लागि योग्य हुन सक्नुहुन्छ’ भनिएको छ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाल जारी पश्चिम एसिया संकटका क्रममा इरानी सरकार कमजोर अवस्थामा पुगेको दाबी गरेका छन्। अमेरिकी पत्रिका एक्सिओसका अनुसार जी–७ राष्ट्रका नेताहरूसँग भएको भर्चुअल बैठकका क्रममा उनले यस्तो टिप्पणी गरेका हुन्।

ट्रम्पले ‘अपरेसन एपिक फ्युरी’ नाम दिइएको सैन्य अभियानबारे चर्चा गर्दै वासिङ्टनले सैन्य माध्यमबाट इरानको ‘आतंकवादी शासन’ अन्त्य गर्ने उद्देश्यसहित कारबाही अघि बढाइरहेको दाबी गरेका छन्। साथै उनले उक्त अभियानलाई आफ्नो नेतृत्वका लागि ठूलो उपलब्धिको रूपमा प्रस्तुत गरेका छन्।

प्रकाशित मिति: ३० फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com