काठमाडौं। झण्डै दुई तिहाइ बहुमत ल्याएर सरकार गठनको अन्तिम तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र पार्टी सभापति रवि लामिछानेबीच मन्त्री चयनका विषयमा कुरा मिल्न सकेको छैन ।
अबको एक हप्ताभित्र बालेन नेतृत्वमा सरकार गठन हुने निश्चित जस्तै देखिए पनि मन्त्रालय बाँडफाँटमा दुई नेताको स्वार्थ बाझिएको छ ।
स्रोतका अनुसार वरिष्ठ नेता बालेनले सभापति रविसँग स्पष्ट प्रस्ताव राखेका छन् : “तपाईं पार्टी चलाउनुहोस्, मलाई सरकार चलाउन दिनुहोस् ।”
बालेनले मन्त्रालय संख्या घटाएर सरकार गठन गर्ने तयारीमा रहँदा मन्त्री चयन आफूलाई सहज हुने गरी गर्न पाउनुपर्ने अडान लिएका छन् ।
उनले गृह र अर्थ मन्त्रालय आफ्ना विश्वासपात्रलाई दिनुपर्ने पक्षमा छन् ।
यो पनि:
यता सभापति रवि लामिछाने भने आफू तत्काल सरकारमा सहभागी नहुने अवस्थामा आफू निकटका नेताहरूलाई महत्वपूर्ण र जनतासँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय दिन चाहन्छन् ।
रवि निकट स्रोतका अनुसार उनले गृह, रक्षा, परराष्ट्र, अर्थ र श्रम मन्त्रालय आफ्ना निकटतम नेताहरूलाई दिनुपर्ने अडान राखेका छन् ।
यी दुई नेताबीच महत्वपूर्ण मन्त्रालय बाँडफाँटका विषयमा अझै सहमति जुट्न सकेको छैन ।
बालेनले प्रधानमन्त्रीय पद्धतिमा प्रधानमन्त्रीले आफू अनुकूल मन्त्रिपरिषद् गठन गर्न पाउनुपर्ने र
त्यसो भए मात्र इच्छाअनुसार काम गर्न सकिने दाबी गर्दै आएका छन् ।
रास्वपाका एक नेताका अनुसार चैत १० गतेभित्र बालेन प्रधानमन्त्री बन्ने सम्भावना छ ।
त्यही दिन मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी सभापति र वरिष्ठ नेताबीच छलफल जारी छ ।
“मन्त्री चयन पनि आपसी सहमतिमा नै हुन्छ ।
अहिले उहाँहरू त्यसैको गृहकार्यमा हुनुहुन्छ,” ती नेताले भने ।
जनताको अपार समर्थन पाएको रास्वपा सरकार गठनको अन्तिम चरणमा छ ।
बालेन प्रधानमन्त्री बन्ने कुरामा कुनै शंका नभए पनि मन्त्री चयनका विषयमा रवि र
बालेनको आ–आफ्नै स्वार्थका कारण नाम टुंगो लगाउन ढिलाइ भइरहेको स्रोतको दाबी छ ।
रास्वपाले चुनावी वाचापत्रमै मन्त्रालय संख्या घटाउने र अनावश्यक कर्मचारी संघसंगठन खारेज गर्ने प्रतिबद्धता जनाएको थियो ।
अब एकल बहुमतको सरकार बन्ने अवस्था आएपछि पार्टीले यो वाचापत्र कार्यान्वयनमा जोड दिएको छ ।
प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार












प्रतिक्रिया