काठमाडौं । नेपाली कांग्रेस १५ औं महाधिवेशन केन्द्रित गतिविधिमा प्रवेश गर्न लागेको छ । महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न आज केन्द्रीय कार्यसमिति बैठक बस्दैछ ।

पार्टीका प्रवक्ता देवराज चालिसे का अनुसार दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकमा महाधिवेशनको कार्यतालिकाबारे छलफल गरिनेछ । बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य तथा प्रदेश सभापतिहरूलाई बोलाइएको छ ।

advertisement

बैठकमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सभापतिहरू सहभागी हुनेछन् । यसअघि आइतबार सम्पन्न केन्द्रीय समिति बैठकले सभापति गगन थापा ले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको थियो भने हालैको निर्वाचनमा भएको पराजयबारे प्रारम्भिक समीक्षा गरेको थियो ।

आजको बैठक पनि सभापति थापाकै अध्यक्षतामा बस्नेछ । प्रवक्ता चालिसेका अनुसार चैत महिनादेखि नै महाधिवेशन प्रक्रिया सुरु गर्ने तयारी भइरहेको छ । पार्टीका सबै पक्षसँग संवाद अघि बढाइएको पनि उनले जानकारी दिए ।

सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मा ले विभिन्न समूहका नेताहरूसँग छलफल गरिरहेका छन् । कांग्रेसले गत पुसमा विशेष महाधिवेशन सम्पन्न गरेको थियो, तर उक्त महाधिवेशनमा शेरबहादुर देउवा पक्ष सहभागी भएको थिएन ।

विशेष महाधिवेशनलाई निर्वाचन आयोग ले मान्यता दिएको विषयमा देउवा पक्ष सर्वोच्च अदालत पुगेको र मुद्दा हाल विचाराधीन रहेको छ ।

कांग्रेसले यसअघि २०७८ मंसिर २४ देखि २८ गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन सम्पन्न गरेको थियो । विधानअनुसार प्रत्येक चार वर्षमा महाधिवेशन गर्नुपर्ने प्रावधान भए पनि यसपटक निर्धारित समयमै महाधिवेशन हुन सकेको थिएन ।

हाल पार्टीले क्रियाशील सदस्यता टुंगो लगाएर नियमित महाधिवेशनको प्रक्रियामा अघि बढ्ने तयारी गरेको छ । यसका लागि देउवा पक्षसँग पनि संवादको प्रयास भइरहेको नेताहरूले बताएका छन् ।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले १६५ क्षेत्रमा उम्मेदवारी दिएको भए पनि प्रत्यक्षतर्फ १८ क्षेत्रमा मात्रै विजयी भएको थियो । सभापति थापासहित शीर्ष नेताहरू पराजित भएका थिए । केन्द्रीय समितिले चुनावी हारको एक कारण अन्तर्घातलाई मानेको छ ।

आजको बैठकमा क्रियाशील सदस्यता नवीकरण, नयाँ वितरण तथा वडा तहदेखि केन्द्रसम्मको महाधिवेशन कार्यतालिका तय गर्ने विषयमा छलफल हुने जनाइएको छ । महामन्त्रीद्वय गुरूराज घिमिरे र प्रदीप पौडेलले कार्यतालिका पेश गर्ने तयारी गरेका छन् ।

यसबीच, पार्टीभित्र दुई धारबीचको विवाद पनि सतहमा देखिएको छ । विशेष महाधिवेशनबाट आएको कार्यसमितिका गतिविधिमाथि प्रश्न उठाउँदै अर्को समूहले समानान्तर गतिविधिको संकेत गरेको छ ।

नेता पूर्णबहादुर खड्का लाई वैकल्पिक ‘केन्द्रीय समिति’ बैठक बोलाउने जिम्मेवारी दिइएको छ । साथै, नेता मीनबहादुर विश्वकर्मा ले सामाजिक सञ्जालमार्फत पार्टीको समीक्षा प्रक्रियामाथि टिप्पणी गरेका छन् ।

विशेष महाधिवेशनबाट आएको कार्यसमितिले भने पछिल्लो निर्वाचनले पार्टीलाई वडा तहदेखि केन्द्रसम्म पुनर्संरचना र रूपान्तरणको आवश्यकता देखाएको निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com