काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना ले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

आज यहाँ मन्त्रालयका कामकारबाहीबारे जानकारी लिँदै उहाँले सञ्चार मन्त्रालय सरकारको अनुहार र नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय भएकाले जनतालाई तत्काल लाभ हुने र प्रतिफल आउने गरी जनमुखी काम गर्न आग्रह गरेका हुन् ।

advertisement

सञ्चारमन्त्री डा तिमिल्सिनाले भने, ‘देशमा एउटा नयाँ राजनीतिक परिदृश्य देखिएको छ । निर्वाचनले हामीलाई अभूतपूर्व ‘म्यान्डेड’ दिएका छन् । जनअपेक्षा पनि धेरै छन् । त्यसैले जनताले तत्काल अनुभूति गर्नेगरी सरकारले काम गर्नुपर्ने दायित्व छ ।’

उहाँले नवगठित सरकारको भावनाअनुसार जनतालाई केन्द्रमा राखेर सरल, छिटो र छरितो सेवा प्रवाह बनाइनुपर्नेमा जोड दिए । ‘सेवा प्रवाह छिटो र छरितो हुनुपर्‍यो । कुनै पनि विवादित कामहरू हुनुभएन’, मन्त्री डा तिमिल्सिनाले भने, ‘सेवाग्राहीले समस्या महसुस गर्नुभन्दा अगाडि नै हामीले समाधान गरिसक्नुपर्छ । जनभावनालाई सम्मान गरेर देशले खोजेको बाटोमा मुलुकलाई अगाडि बढाउन सबैले योगदान गर्नुपर्छ ।’

उनले मन्त्रालयले तत्काल गर्नुपर्ने सुधार र दीर्घकालीन कार्ययोजनासहित आउन उच्चपदस्त अधिकारीलाई आग्रह गर्दै सञ्चार मन्त्रालयलाई नमूना मन्त्रालयका रूपमा स्थापित गर्नेगरी काम गर्नुपर्नेमा जोड दिए । सञ्चारमन्त्री तिमिल्सिनाले ‘डिजिटल डिभाईड’ हटाउन कार्ययोजनासहित द्रुतगतिमा काम गर्नुपर्ने खाँचो औँल्याए । तत्काल ‘रिफर्म’ गर्नुपर्ने, नयाँ मस्यौदा गर्नुपर्ने ऐनहरू चाँडो प्रस्तुत गर्न तथा जनतालाई राहत हुनसक्ने र सकारात्मक सन्देश दिन सकिने कामको कार्ययोजना तयार पार्न पनि उनले निर्देशन दिए ।

प्रकाशित मिति: १४ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com