काठमाडौं । गृहमन्त्री सुधन गुरूङले देशको समग्र शान्ति–सुरक्षा अवस्थाबारे समीक्षा गर्न शनिबार सुरक्षा प्रमुख र गृह मन्त्रालयका उच्च अधिकारीहरूसँग दुई घण्टा लामो छलफल गरेका छन्।

मन्त्रालयमा अपराह्न ५ बजेदेखि ७ बजेसम्म चलेको बैठकमा नेपाल प्रहरीका महानिरीक्षक (आईजिपी) दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका आईजिपी राजु अर्यालसहित गृह मन्त्रालयका कर्मचारीहरू सहभागी थिए।

advertisement

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेका अनुसार बैठकमा वर्तमान शान्ति–सुरक्षा अवस्थाको विश्लेषण गर्दै सुरक्षा निकायहरूले आफ्नो संयन्त्रको अवस्था र तयारीबारे विस्तृत ब्रिफिङ दिएका थिए। “सुरक्षा अवस्थाको समग्र विश्लेषण र सुरक्षा संयन्त्रको तयारीबारे जानकारी आदान–प्रदान भएको हो,” उनले भने।बैठकमा आगामी आर्थिक वर्षको बजेटमा सुरक्षा क्षेत्रसँग सम्बन्धित प्राथमिकता र कार्यक्रमहरू समेट्ने विषयमा समेत छलफल भएको काफ्लेले जानकारी दिए।

शुक्रबार मन्त्रिपरिषद् बैठकपछि पनि गृहमन्त्री सुधन गुरूङले सुरक्षा निकायहरूसँग छलफल गरेका थिए। त्यसको भोलिपल्ट शनिबार बिहान पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको थियो।ओलीको पक्राउपछि नेकपा (एमाले)ले विरोध प्रदर्शनलाई तीव्र बनाएको छ। शनिबार अपराह्न काठमाडौंको माइतीघर–बानेश्वर क्षेत्रमा एमाले कार्यकर्ताहरू सडकमा उत्रिएका थिए भने देशका विभिन्न स्थानमा समेत प्रदर्शन भएका छन्।

स्रोतका अनुसार पछिल्लो राजनीतिक तथा सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै यिनै घटनाक्रमबारे पनि बैठकमा गम्भीर छलफल गरिएको थियो।

प्रकाशित मिति: १४ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com