काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंको आयोजनामा सञ्चालित ‘बाहिनीपति कप २०८२’ सोही बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरेश कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
संगठनको नियमित ‘पेशागत गतिविधि चक्र’ (PAC) अन्तर्गत चैत ९ गतेदेखि सुरु भएको उक्त प्रतियोगिता सोमबार सशस्त्र प्रहरी बल, नेपाल नं. २१ गण हे. क्वा. दक्षिणकाली, ललितपुरको कार्यालय परिसरमा एक विशेष समारोहका बीच समापन भएको हो।
प्रतियोगितामा बाहिनी मातहत रहेका गण तथा गुल्महरूबाट सात वटा टोलीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा फुटबल, भलिबल, कबड्डी, हाईजम्प, ट्रिपल जम्प, सटपुट, ब्याडमिन्टन, पिकलबल, एथलेटिक्स लगायत विभिन्न विधामा प्रतिस्पर्धा गराइएको थियो। एथलेटिक्स तर्फका विभिन्न दूरीका दौड (१००, २००, ४००, ८००, ५००० मिटर तथा २१ किलोमिटर) सहित महिला तथा पुरुष सशस्त्र प्रहरी कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सशस्त्र प्रहरीबल, नेपाल नं. १९ गण हेडक्वार्टरले २६ स्वर्ण र ६ रजत गरी जम्मा ३२ पदक सहित प्रथम स्थान हासिल गरेको छ। कार्यक्रमका प्रमुख अतिथि नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरेश कुमार श्रेष्ठले विजेता खेलाडीहरूलाई पुरस्कार तथा प्रथम हुने गणलाई ट्रफी वितरण गरेका हुन्।
समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो किसिमको प्रतियोगिताले सशस्त्र प्रहरी कर्मचारीमा आपसी भातृत्व भाइचाराको विकास, पेशाप्रतिको निष्ठा, पृथक मनोरञ्जनको वातावरण सिर्जना तथा सकारात्मक सोचको विकास हुनुको साथै निकट भविष्यमा आयोजना हुन गइरहेको’ आईजीपी कप’ का लागि खेलाडीहरूको छनोटमा समेत सहयोग पुग्ने बताए।
साथै, सकल दर्जाका राष्ट्रसेवकहरुमा सामूहिक भावना, व्यावसायिक क्षमता अभिवृद्धि संगठन र युनिटप्रतिको बफादारिता व्यक्तिगत अनुशासन, व्यावसायिक प्रतिस्पर्धात्मक क्षमताको विकास तथा खेलकुद क्षेत्रको समग्र विकासमा सहयोग पुर्याउने हेतुले संगठनको पेशागत गतिविधि अन्तर्गत बाहिनीपति कपको आयोजना गरिएको समेत बताए ।
उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका वरिष्ठ अधिकृतहरु, उपत्यकास्थति गणका गणपतिहरु, तथा सशस्त्र प्रहरी कर्मचारी खेलाडीहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार













प्रतिक्रिया