काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई देखि तीन हप्ताभित्र इरानबाट अमेरिकी सेना फिर्ता लिने घोषणा गरेसँगै एसियाली सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेको छ।
ट्रम्पको भनाइपछि एसियाली सेयर बजारमा लगानीकर्ताहरूमा उत्साह देखिएको हो।
बुधबार जापानको निक्केई २२५ सूचकांक ४.९ प्रतिशतले बढेको छ भने दक्षिण कोरियाको कोस्पी सूचकांकमा ८.६ प्रतिशतको ठूलो वृद्धि छ।
यद्यपि फेब्रुअरी २८ मा युद्ध सुरु हुनुअघिको तुलनामा यी सूचकांकहरू अझै केही तल नै छन्।
इन्धनको मूल्यमा पनि राहत देखिएको छ।
जुन महिनाका लागि ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल १०३ डलर कायम भएको छ, जुन अघिल्लो कारोबारको तुलनामा १ प्रतिशतले घटेको हो।
यसअघि मार्च महिनामा ब्रेन्ट क्रुडको मूल्यमा ६४ प्रतिशतको कीर्तिमानी वृद्धि भएको थियो।
ट्रम्पले ओभल अफिसबाट सम्बोधन गर्दै इरानसँग कुनै सम्झौता भए पनि वा नभए पनि तोकिएको समयमा अमेरिका इरान छाड्ने स्पष्ट पारेका छन्।
उता इरानी राष्ट्रपति मसुद पेजेस्कियानले युद्ध अन्त्य गर्न आफ्नो देश तयार रहेको तर भविष्यमा कुनै आक्रमण नहुने ग्यारेन्टी आवश्यक रहेको बताएका छन्।
यद्यपि बजारमा सुधार देखिए पनि पश्चिम एशियामा तनाव कायमै छ।
मंगलबार इजरायली सेनाले लेबनानको राजधानी बेरुतमा हवाई आक्रमण गरेको छ, जसलाई हिजबुल्लाहका वरिष्ठ कमाण्डरहरूलाई लक्षित गरी गरिएको इजरायलले दाबी गरेको छ।
जापान र दक्षिण कोरिया जस्ता पश्चिम एशियाली ऊर्जामा बढी निर्भर देशहरू यो द्वन्द्वबाट सबैभन्दा बढी प्रभावित भएका थिए।
ट्रम्पले बुधबार साँझ युद्धका विषयमा थप सम्बोधन गर्ने तयारी गरेका छन्।
प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार












प्रतिक्रिया