काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबुधाबीस्थित अज्बान क्षेत्रमा हवाई सुरक्षा प्रणालीले ड्रोन र मिसाइल अवरोध गर्दा खसेका अवशेष लागेर ७ जना नेपाली नागरिक घाइते भएका छन्।
आबुधाबी मिडिया अफिसका अनुसार घाइतेमध्ये ६ जनाको अवस्था सामान्यदेखि मध्यम रहेको छ भने एक जनाको अवस्था गम्भीर छ। सोही घटनामा ५ जना भारतीय नागरिक पनि घाइते भएका छन्।
घाइतेहरूको नामावली भने हालसम्म सार्वजनिक गरिएको छैन।
अज्बान क्षेत्र आबुधाबीको अल ऐन शहरको उत्तरतर्फ तथा दुबई–अल ऐन सिमाना नजिक पर्दछ।
यूएई रक्षा मन्त्रालयका अनुसार हवाई सुरक्षा प्रणालीले मिसाइल तथा मानवविहीन ड्रोनहरू सफलतापूर्वक अवरोध गरेको थियो। तर, अवरोधपछि खसेका अवशेषका कारण अज्बान क्षेत्रका विभिन्न स्थानमा क्षति पुगेको जनाइएको छ।
घटनापछि आपतकालीन उद्धार टोली तुरुन्त परिचालन गरिएको थियो। प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ र घाइतेहरूलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको अधिकारीहरूले बताएका छन्।
प्रकाशित मिति: २१ चैत्र २०८२, शनिबार













प्रतिक्रिया