काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा जेनजी आन्दोलनका अगुवा सुधन गुरुङ गृहमन्त्री बनेको एक साताभित्रै उच्चस्तरीय व्यक्तिहरूको धमाधम पक्राउ सँगै सरकारको कार्यशैली निकै आक्रामक देखिएको छ ।
चैत १३ गते गृहमन्त्रीको जिम्मेवारी सम्हालेका गुरुङले एक हप्ता नबित्दै पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री लगायतका उच्च प्रोफाइल व्यक्तिहरूलाई धमाधम पक्राउ गर्न निर्देशन दिएका छन् ।
उनको यो शैलीलाई ‘हिन्दी फिल्मको एक्सन’ जस्तै भन्दै राजनीतिक वृत्तमा चर्चा र आलोचना दुवै भइरहेको छ ।
गृहमन्त्री नियुक्त हुनुअघि सुधन गुरुङको ‘सांसदहरूलाई तलबै नदिऊँ’, ‘हाम्रो एजेन्डा के रे’ जस्ता अभिव्यक्तिले धेरैलाई आश्चर्यमा पारेको थियो ।
तर गृहमन्त्री बनेपछि भने उनले प्रश्नहरूको जवाफ कामबाट दिन खोजेको देखिन्छ ।
गृहमन्त्री गुरुङको पहिलो साताको प्रमुख घटनाक्रम
चैत १३ गते (नियुक्तिको दिन): गृहमन्त्री नियुक्त भएकै दिन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्न निर्देशन दिए ।
चैत १४ गते: ओली र लेखकलाई निवासबाट पक्राउ गरियो । सोही दिन एमाले नेता कर्णबहादुर मल्ललाई पनि पक्राउ गरियो ।
चैत १५ गते: सिंहदरबार क्यान्टिनमा सर्वसाधारणसँग भेटघाट गर्दै ‘भीआईपी शैली’ अन्त्य गर्ने संकेत दिए । कांग्रेस नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई पक्राउ गर्न आदेश दिए ।
चैत १६ गते: प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै तल्लो तहका प्रहरीको समस्या सुने र तलब, पोषण तथा सरुवा प्रणाली सुधार गर्ने प्रतिबद्धता जनाए ।
चैत १७ गते: ओलीको रिहाइ माग गर्दै प्रदर्शनका क्रममा दुव्र्यवहारमा परेका ज्येष्ठ नागरिकलाई घरमै पुगेर भेटे ।
चैत १८ गते: ओली र लेखक सम्बन्धी अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरमा पुगेर प्रत्यक्ष अनुगमन गरे ।
चैत १९ गते: पशुपतिनाथ मन्दिर दर्शनका क्रममा सर्वसाधारणलाई प्राथमिकता दिँदै सवारी व्यवस्थापनमा आफैं संलग्न भए ।
चैत २० गते: घाइते आन्दोलनकारीलाई अस्पतालमै पुगेर भेटे र सामाजिक सञ्जालमा ‘जनताभन्दा माथि सरकार हुँदैन’ भन्ने सन्देश दिए ।
गृहमन्त्री नियुक्त भएपछि पक्राउ परेका उच्च व्यक्तिहरू
१. केपी शर्मा ओली – पूर्वप्रधानमन्त्री
२. रमेश लेखक – पूर्वगृहमन्त्री
३. कर्णबहादुर मल्ल – एमाले नेता
४. रेखा शर्मा – एमाले नेता
५. दीपक खड्का – पूर्वउर्जामन्त्री
६. छवि रिजाल – काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी
७. दीपक भट्ट – व्यवसायी
८. राजकुमार अर्याल
९. शंकर अग्रवाल – व्यवसायी
१०. सुलभ अग्रवाल – व्यवसायी
गृहमन्त्री गुरुङले पहिलेका सरकारका पालामा अड्किएका अनुसन्धान फाइलहरू खोल्न थालेका छन् ।
यसलाई एकातिर ‘अपराधमाथि कारबाही’ भनिए पनि अर्कोतिर ‘प्रतिशोध र पूर्वाग्रही’ भएको आरोप पनि लाग्न थालेको छ ।
गृहमन्त्रीको यो आक्रामक शैलीले छोटो समयमै ठूलो तरंग सिर्जना गरेको छ ।
अब उनको नेतृत्वमा गृह मन्त्रालय कसरी अघि बढ्छ भन्ने विषयमा राजनीतिक तथा प्रशासनिक वृत्तमा चासो बढेको छ ।
प्रकाशित मिति: २१ चैत्र २०८२, शनिबार













प्रतिक्रिया