काठमाडौँ । काठमाडौँ उपत्यकामा मंगलबारदेखि वाईफाई सुविधासहितको रात्रिकालीन बस सेवा सुरु गरिएको छ। यो सेवा काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरि नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा पुलचोकबाट औपचारिक रूपमा सुरु गरिएको हो।
उक्त अवसरमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठा राम अधिकारीले समन्वय तथा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्दै सेवा शुभारम्भ गरेका हुन्।
सुरुवातमा ७ वटा बस सञ्चालनमा ल्याइएको छ। यात्रुको सुरक्षाका लागि प्रत्येक बसमा चारवटा सिसिटिभी क्यामेरा जडान गरिएको छ, जसलाई नियन्त्रण कक्षबाट प्रत्यक्ष निगरानी गर्न सकिने व्यवस्था मिलाइएको छ। साथै, प्रत्येक बसमा एक जना नगर प्रहरी पनि परिचालन गरिएको छ।
सेवा शुभारम्भ गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले रात्रिकालीन सेवालाई दिगो बनाउँदै भविष्यमा बिहानको सेवा पनि सुरु गर्ने योजना रहेको बताइन्। उनले उपत्यकाका स्थानीय तहबीचको सहकार्यबाट गुणस्तरीय र दिगो सार्वजनिक यातायात सेवा विस्तार गर्ने लक्ष्य रहेको उल्लेख गरिन्।
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले सेवा सञ्चालनका लागि सबै स्थानीय तहबीच साझा सहमति कायम भएको बताए। चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले यो सेवाले दैनिक आवतजावत तथा आर्थिक–सामाजिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठा राम अधिकारीले स्थानीयवासीबाट सकारात्मक प्रतिक्रिया आएको उल्लेख गर्दै सेवा विस्तार आवश्यक रहेको बताए।
यो सेवा साझा यातायातसँगको सहकार्यमा सञ्चालन गरिएको हो। प्रारम्भिक चरणमा असार मसान्तसम्मको खर्च साझा यातायातले बेहोर्ने र त्यसपछि लागत साझेदारीको मोडेल अपनाइने जनाइएको छ।
रात्रिकालीन बस सेवा अन्तर्गत विभिन्न रुटहरू सञ्चालनमा ल्याइएका छन्, जसले ललितपुर, काठमाडौँ र चन्द्रागिरि–बुढानीलकण्ठ क्षेत्रलाई जोड्दै नियमित अन्तरालमा बस सेवा उपलब्ध गराउनेछ।
प्रकाशित मिति: २ बैशाख २०८३, बुधबार













प्रतिक्रिया